७ वैशाख २०८१ शुक्रबार
खेल

पारिश्रमिक कटौतीमा श्रीलंकाली खेलाडी असन्तुष्टः नयाँ करार गर्न अस्वीकार

श्रीलंकाली राष्ट्रिय टोलीका क्रिकेटरले शनिबार आफ्नो बोर्डसँग नयाँ करार सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरे पनि इङ्ल्यान्ड भ्रमणमा भने सहभागी हुने बताएका छन्।  

श्रीलंका क्रिकेट बोर्डले यसै हप्ता नयाँ करार सम्झौताको समयसीमा शनिबार राखे पनि क्रिकेटरले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। पारिश्रमिकमा कटौती गर्ने बोर्डको प्रस्तावबारे श्रीलंकन क्रिकेटरले लामो समयदेखि असहमति जनाउँदै आएका छन्। बोर्डका नयाँ डाइरेक्टर टम मुडीले ल्याएको पारिश्रमिक कटौती प्रस्तावबारे समयसीमा शनिबार राखिएको थियो। यद्यपि, क्रिकेटरका अधिवक्ताले बोर्डको उक्त सम्झौतामा खेलाडीले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। तथापि, यसै महिनाको अन्त्यमा इङ्ल्यान्ड भ्रमणमा क्रिकेटर जाने अधिवक्ताको भनाइ छ।

‘जबसम्म पारिश्रमिक विवाद समाधान हुँदैन तबसम्म खेलाडीले वार्षिक र भ्रमणबारे सम्झौता गर्न अस्वीकार गरेका छन्। बोर्डले पारिश्रमिक नदिए पनि खेल्ने खेलाडीको उद्देश्य छ,’ अधिवक्ता निसान प्रेमाथिरत्नेले जारी गरेको विज्ञप्तीमा भनिएको छ। श्रीलंकाका खेलाडीले सम्झौताबिना नै इङ्ल्यान्डको घरेलु मैदानमा ३/३ एकदिवसीय र ट्वान्टी–२० क्रिकेट शृंखला खेल्नेछन्। श्रीलंका क्रिकेट बोर्डले नयाँ सम्झौताअनुरूप २४ जना राष्ट्रिय खेलाडीको पारिश्रमिकमा ४० प्रतिशत कटौती गरेसँगै खेलाडीले विरोध गर्दै आएका छन्। गत महिना बंगलादेशसँगको एकदिवसीय शृंखलामा २–१ ले हार बेहोर्दा श्रीलंकाली टोलीबाट बाहिरिएका पूर्वकप्तान एन्जेलो म्याथ्युज र टेस्ट कप्तान दिमुथ करुनारत्नेले रकम कटौतीमा धेरै क्षति बेहोर्नुपर्नेछ।  

यसअघि वार्षिक एक लाख ३० हजार अमेरिकी डलर पाउँदै आएका म्याथ्युजले ८० हजार अमेरिकी डलर पाउने भएका छन्। करुनारत्नको पारिश्रमिक पनि ७० हजारबाट ३० हजार अमेरिकी डलरमा झर्नेछ। गत महिना बोर्डले ल्याएको नयाँ प्रस्तावलाई खेलाडीले अपारदर्शी रहेको भन्दै कन्चटमा बन्दुक राखेर हस्ताक्षर नगराउन आग्रह गरेका थिए। साथै गोप्य राख्नुपर्ने पारिश्रमिकबारे बोर्डले सार्वजनिक गरेको खेलाडीले आरोप लगाएका छन्। बोर्डले खेलाडीको प्रतिक्रियाबारे कुनै धारणा सार्वजनिक नगरे पनि प्रदर्शनका आधारमा पारिश्रमिक दिने व्यवस्थाले उनीहरूलाई नै राम्रो गर्ने जनाएको छ।

श्रीलंकाका पूर्वकप्तान अरविन्द डी सिल्भा र मुडीले नै यो प्रस्ताव ल्याएकोमा खेलाडीले असन्तुष्टि व्यक्त गरेका छन्। बोर्डले ल्याएको नयाँ प्रस्तावअनुसार अलराउन्डर धनञ्जय डी सिल्भा र विकेटकिपर निरोसन डिकवेलाले सर्वाधिक एक लाख अमेरिकी डलर पाउनेछन्। यद्यपि, यी दुवै खेलाडीले यो प्रस्ताव अस्वीकार गरेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App