coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेरेनाको लक्ष्य कायमै

अमेरिकी भेट्रान खेलाडी सेरेना विलियम्सले फ्रेन्च ओपनको चौथो चरणमा पुग्दै कीर्तिमानी २४औं ग्रान्ड स्लामको लक्ष्य कायमै राखेकी छन्।

फिलिप काट्रियर टेनिस कोर्टमा आफ्नै देशकी ड्यानिइले रोज कोलिन्सलाई ६–४ र ६–४ ले हराउँदै सेरेनाले कीर्तिमानी ग्रान्ड स्लाम लक्ष्य कायम राखेकी हुन्। जितसँगै उनी सन् २०१८ पछि फ्रेन्च ओपनमा दोस्रो हप्तासम्म यात्रा कायम राख्न सफल भइन्। विश्व नम्बर तीन आर्यना साबालेन्काको बहिर्गमनसँगै सेरेनाको उपाधियात्रा केही सहज भएको छ। बेलारुसकी साबालेन्का तेस्रो चरणमा ३२औं वरीयताकी रसियन खेलाडी एनास्टासिया पाब्लेयुचेनकोभासँग ६–४, २–६ र ६–० ले स्तब्ध भएकी थिइन्। तीन पटककी फ्रेन्च ओपन च्याम्पियन सेरेना लामो समयदेखि अस्ट्रेलियन मार्गरेट कोर्टको नाममा रहेको २४औं ग्रान्ड स्लाम बराबरी गर्ने लक्ष्यमा छिन्।

त्यसका लागि सेरेनाले चौथो चरणमा कजाखस्तानकी २१औं वरीयता प्राप्त इलिना रेबाकिनाको चुनौती पार गर्नुपर्नेछ। सेरेनाले यो चुनौती पार गरेमा उनको पुरानै प्रतिद्वन्द्वी भिक्टोरिया अजारेन्कासँग भेट हुनेछ। साथै भिक्टोरियाले पनि चौथो चरणमा एनास्टासियाविरुद्ध जित निकाल्नु पर्नेछ। सेरेनाले खेल संघर्षपूर्ण भए पनि जित निकाल्न सफल भएको बताइन्। ‘आज स्थिति कठिनपूर्ण थियो, तर मैले पनि राम्रो खेलें। यो जितबाट निकै खुसी छु,’ दोस्रो सेटमा १–४ ले पछि परेर पनि पुनरागमन गरेकी सेरेनाले भनिन्। यसअघि बिहीबार नै विश्व नम्बर एक एस्लेघ बार्टी बाहिरिएसँगै महिलातर्फको उपाधि भिडन्त शीर्ष तीन वरीयताका खेलाडीबिना हुने पक्का थियो।

बार्टीले चोटका कारण दोस्रो चरणको प्रतिस्पर्धा जारी रहँदै प्रतियोगिता त्यागेकी थिइन्। विश्व नम्बर दुई नाओमी ओसाकाले भने पत्रकार सम्मेलन बहिष्कार विवादका कारण प्रतियोगिता छाडेकी थिइन्। विश्व नम्बर तीन सिमोना हालेप चोटका कारण सहभागी नभएको फ्रेन्च ओपनमा बियान्सा एन्ड्य्रुस्कु र एन्जेलिक केरबेर पनि छिट्टै प्रतियोगिताबाट बाहिरिसकेका छन्। यी खेलाडीले कयौं पटक सेरेनालाई स्तब्ध बनाएका थिए। सन् २०१७ मा अस्ट्रेलियन ओपन जित्दै करियरमा २३औं ग्रान्ड स्लाम उचालेकी सेरेना त्यसयता कीर्तिमानी उपाधि जित्न असफल रहँदै आएकी छन्।

यस पटक भने सेरेनासँग निकै राम्रो अवसर छ। आफ्नो यात्रा कायमै राख्न सेरेनाले चौथो चरणमा पूर्वविश्व नम्बर एक अजारेन्कालाई पराजित गर्नुपर्नेछ। गत वर्ष युएस ओपनको सेमिफाइनलमा सेरेनालाई स्तब्ध बनाएकी अजारेन्काले अमेरिकाकै म्याडिसन किजमाथि ६–२ र ६–२ को सहज जित निकालेकी थिइन्। सन् २०१३ पछि फ्रेन्च ओपनको चौथो चरणमा पुगेकी अजारेन्का विलियम्ससँग २४औं पटक आमनेसामने हुँदै छिन्।

चौथो चरणमा स्टेफानोस र मेदभेदेभ  

पुरुषतर्फ विश्व नम्बर पाँच स्टेफानोस सिटसिपास र विश्व नम्बर दुई डानियल मेदभेदेभले संघर्षपूर्ण जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन्। रात्रि समयमा भएको खेलमा ग्रिकका स्टेफानोसले अमेरिकाका जोन इस्नेरमाथि ५–७, ६–३, ७–६ (७–३) र ६–१ को संघर्षपूर्ण जित निकाले। गत संस्करण सेमिफाइनलमा जोकोभिचसँग अप्रत्याशित हार बेहोरेका स्टेफानोसले चौथो चरणमा स्पेनका पाब्लो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो वरीयताका मेदभेदेभले भने अमेरिकाका रेइली ओपेल्कोमाथि ६–४, ६–२ र ६–२ को जित निकालेका थिए। पछिल्ला चार संस्करणको फ्रेन्च ओपनमा पहिलो हप्ता नै पार गर्न  

असफल मेदभेदेभले चौथो चरणमा चिलीका क्रिस्टियन मेडोनसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App