६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप २०३०ः स्पेन र पोर्चुगलको संयुक्त दाबी

२०३० मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि युरोपेली राष्ट्र स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन्।  

स्पेन र पोर्चुगलबीच युरो कपअघिको मैत्रीपूर्ण खेलअघि गरिएको उद्घाटन कार्यक्रममा संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दाबी गरिएकोे हो। युरो कप २०२० आगामी शुक्रबारबाट युरोपका विभिन्न देशमा सञ्चालन हुँदै छ। प्रतियोगिताअघिको मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका थिए। यस खेल स्पेन र पोर्चुगलबीच भएको पहिलो मैत्रीपूर्ण खेलको सय वर्ष पूरा भएको अवसर पारेर आयोजना गरिएको थियो। खेलअघि दुवै टोलीका खेलाडी ‘भामोस २०३०’ अंकित टिसर्ट लगाएर मैदान प्रवेश गरेका थिए।

‘स्पेनको सरकार र पोर्चुगलले २०३० मा हुने विश्वकप फुटबलको आयोजना गर्ने इच्छा र संकल्प राखेका छौं,’ पोर्चुगलका प्रधानमन्त्रीले स्पेनका प्रधानमन्त्रीसमक्ष राखेको प्रस्तावमार्फत भनेका छन्। उक्त प्रस्तावलाई पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डो गोमेस र स्पेनिस संघका अध्यक्ष लुइस रुबिआलेसले गत अक्टोबरमा तयार पारेका थिए। दुई देशबीच खेल हुनुपूर्व दुवै देशका सरकार संयुक्त आयोजनामा राजी भएपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। शुक्रबार भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दा १९२१ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्पेनलाई ३–१ को नतिजा सुम्पिएको थियो। ‘आज हामी दुवै देशका फुटबल संघले संयुक्त रूपमा विश्वकप आयोजनाका लागि वाचा गरेका छौं,’ पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डोले भने।  

तर फिफा २०३० को आयोजना स्थल भने २०२४ मा तय गर्ने योजनामा छ। सन २०२२ को विश्वकप कतारमा आयोजना हुँदै छ। त्यस्तै सन् २०२६ को विश्वकप भने क्यानाडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दै छन्। यस्तै पोर्चुगल र स्पेनले आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्दा बेलायत र आयरल्यान्डले पनि संयुक्त आयोजनाको दाबी गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७८ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App