८ वैशाख २०८१ शनिबार
खेल

आइपिएलका बाँकी खेल युएईमा

कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को शनिबार भएको विशेष साधारण सभाले आगामी सेप्टेम्बर र अक्टोबरमा यस सिजनको आइपिएल फर्काउने सर्वसम्मत निर्णय गरेको हो। यद्यपि, महामारी र मनसुनका कारण बिसिसिआईले अहिले नै मिति भने तय गरेको छैन। भारतमै आगामी अक्टोबर र नोभेम्बरमा तय ट्वान्टी–२० विश्वकपको आयोजनाबारे भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग समय माग्ने बिसिसिआईले जनाएको छ। बायो सेक्युर बबल्समै रहेका फ्रेन्चाइज टोलीका खेलाडी र अफिसियलमा कोरोना संक्रमण हुन थालेपछि गत मे ४ देखि यस सिजनको आइपिएल रोकिएको थियो।  

साथै बिसिसिआईले आइपिएलका बाँकी खेल सञ्चालन गर्न आइसिसी र अन्य राष्ट्रका क्रिकेट बोर्डसँग पनि छलफल अगाडि बढाउने भएको छ। भारतमा गत अप्रिल १ देखि महामारीका कारण एक लाख ६० हजार मानिसको मृत्यु भइसकेको छ। साथै वर्षको अन्त्यमा देशभित्र अर्को चरणको महामारीको खतरा पनि आशंका गरिएको छ। त्यसैले पनि बिसिसिआईले आइपिएलका बाँकी खेल युइएमा लैजाने निर्णय गरेको हो। कोरोना महामारीकै कारण गत सिजनका पूरै खेल युएईमै सम्पन्न भएका थिए। आइपिएलको इतिहासमा दोस्रो पटक सिजन दुई देशमा सञ्चालन हुने भएको छ।

यसअघि सन् २०१४ मा भारतमा भएको लोकसभाको चुनावका कारण पहिलो २० खेल युएईमा र बाँकी ४० खेल भारतमा सम्पन्न भएका थिए। भारतमा जुनदेखि सेप्टेम्बरको मध्यमा मनसुन सुरु हुने र महामारीका थप भयका कारण पनि आइपिएल युएईमा लगिएको हो। अक्टोबरमा तय विश्वकप पनि महामारीको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ। साधारणसभाले उपयुक्त समयमा ट्वान्टी–२० विश्वकप सञ्चालनका लागि आइसिसीसँग छलफल गर्न बिसिसिआईको नेतृत्वलाई अधिकार दिएको छ। यद्यपि, आगामी मंगलबार नै आइसिसीले विश्वकपबारे छलफल गर्ने बताए पनि बिसिसिआईले प्रतियोगिताबारे कुनै मिति तय गरेको छैन।

यद्यपि, बिसिसिआईका अधिकारीका अनुसार केही हप्ताभित्र नै मिति तय हुन सक्नेछ। तथापि, भारतीय सञ्चारमाध्यमका अनुसार आगामी सेप्टेम्बर १८ या १९ देखि अक्टोबर ९ या १० सम्म हुने अनुमान गरेका छन्। २१ दिनभित्र ७ दिन सिंगल र १० दिन डबल हेडर हुन सक्नेछ। गत सिजन युएईका तीन स्टेडियममा ६० खेल सञ्चालन भएका थिए। त्यसका लागि युएईको क्रिकेट बोर्डलाई बिसिसिआईले ९८.५ रूपैयाँ भारु प्रदान गरेको थियो।

प्रकाशित: १६ जेष्ठ २०७८ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App