७ वैशाख २०८१ शुक्रबार
खेल

भिलियर्सको पुनरागमन सम्भावना समाप्त

यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डी भिलियर्सले खेल्ने सम्भावना समाप्त भएको क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले जनाएको छ।

यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका भिलियर्सको पुनरागमनबारे चर्चा चलिरहँदा क्रिकेट दक्षिण अफ्रिकाले पनि उनीसँग छलफल अगाडि बढाएको समाचार बाहिरिएको थियो। यद्यपि, मंगलबार सिएसएले भिलियर्सको संन्यास नै अन्तिम निर्णय रहेको जनाएसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा उनको पुनरागमन सम्भावना समाप्त भएको छ। उनले सन् २०१८ को मेमा सबै फरम्याटको क्रिकेटबाट संन्यास लिएका थिए। तथापि, पछिल्लो समय ट्वान्टी–२० फरम्याटको फ्रेन्चाइज क्रिकेटमा भने उनको सक्रियता बढ्दै आएको छ। यस सिजनको आइपिएलमा रोयल च्यालेन्जर्स बैङ्लोरबाट खेलिरहँदा पनि भिलियर्स र दक्षिण अफ्रिका क्रिकेटका प्रशिक्षक मार्क बाउचरबीच पुनरागमनबारे छलफल भएको बाहिरिएको थियो।

त्यससँगै भारतमा आगामी अक्टोबर–नोभेम्बरमा हुने ट्वान्टी–२० विश्वकपमा उनको पुनरामगन हुन सक्ने अनुमान गरिन थालिएको थियो। तर, मंगलबार सिएसएले विज्ञप्ति जारी गर्दै भिलियर्ससँगको छलफल समाप्त भएको जनायो। दक्षिण अफ्रिकाले वेस्ट इन्डिजसँगको टेस्ट र  

ट्वान्टी–२० क्रिकेटलाई मध्यनजर गर्दै उनीसँग छलफल बढाए पनि भिलियर्सको पुनरागमन हुन सकेन। भिलियर्सल पनि बाउचरसँग आफ्नो छलफल भएको स्वीकार गरेका थिए। ‘गत वर्ष पनि उनले (बाउचर) मेरो इच्छाबारे सोधेका थिए। तर, मैले आइपिएलपश्चात् मेरो लय र फिटनेस कस्तो रहन्छ त्यसपछि कुरा गरौंला भनेको थिएँ,’ भिलियर्सले भने।  

एक्कासि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका भिलियर्सले निर्णय फिर्ताबारे बाउचरले पहिलेदेखि धारणा राख्दै आएका थिए। सन् २०१९ को एकदिवसीय विश्वकप अगाडि पनि दक्षिण अफ्रिकाले संन्यासको निर्णय फिर्ता लिन आग्रह गरे पनि उनले स्वीकार गरेका थिएनन्। दक्षिण अफ्रिका क्रिकेटको डाइरेक्टरमा ग्राहम स्मिथ आएसँगै भिलियर्सको पुनरागमन हुने अनुमान गरिए पनि सफल हुन सकेन। राष्ट्रिय टोलीबाट बाउचर र स्मिथ दुवैसँग भिलियर्सले खेलेकाले उनको पुनरागमन हुन सक्ने अनुमान लगाइएको थियो।  

३७ वर्षे भिलियर्स टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि धेरै रन बटुल्ने ब्याट्सम्यानको सूचीमा चौथो स्थानमा छन्। एकदिवसीय र ट्वान्टी–२० मा भने उनी दोस्रो स्थानमा छन्। कोभिड–१९ कारण यस सिजनको आइपिएल प्रभावित हुनुअघि उनी राम्रो लयमा देखिएका थिए। जहाँ उनले ६ इनिङमा औसत ५१.७५ ले ब्याटिङ गर्दै कुल २०७ रन बटुलेका थिए। 

प्रकाशित: ५ जेष्ठ २०७८ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App