६ वैशाख २०८१ बिहीबार
खेल

नेपाल सुपर लिग: सबैभन्दा अब्बल मेसौके

काठमाडाैं रेजर्सले धनगढी एफसीलाई स्तब्ध पार्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्यो। काठमाडाैंको जितमा प्रतियोगिताभरि नै नायक रहे क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउ। प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर बनेका मेसौकेले एनएसएलमा सर्वाधिक ८ गोल गरे। विसं २०७६ मा काठमाडाैंमै भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबबाट खेल्दै नेपालमा व्यावसायिक खेलजीवन सुरु गरेका मेसौकेका लागि सो सिजन त्यति सुखद बन्न सकेन। कोरोना महामारीका कारण गत सिजन ‘ए’ डिभिजन लिग सञ्चालन हुन सकेन। 

मेसौके नेपाली फुटबलमा आफ्नो क्षमता प्रमाणित गर्न चाहन्थे। ‘ए’ डिभिजन लिगमा सोचेअनुरूपको प्रदर्शन गर्न नसकेका मेसौकेले एनएसएलमार्फत भने आफूलाई उत्कृष्ट खेलाडीका रूपमा उभ्याएका छन्। हुन त नेपाली लिगमा विगत लामो समयदेखि विदेशी खेलाडीको प्रभाव रहँदै आएको छ।  

त्यसमाथि नेपाली क्लबका लागि अफ्रिकन खेलाडी नै पहिलो रोजाइमा पर्र्र्दै आइरहेका छन्। वैशाख ११ गतेदेखि सञ्चालनमा आएको एनएसएलमा प्रत्येक टोलीले तीन विदेशी खेलाडीलाई मैदान उतार्न पाउने नियम थियो। ‘ए’ डिभिजन लिगका क्लबजस्तै एनएसएलका फ्रेन्चाइज ७ टोलीमध्ये अधिकांश टोलीको रोजाइमा अफ्रिकन खेलाडी नै परेका थिए। 

त्यसबाहेक विराटनगर सिटी एफसीले स्पेनका पेड्रो मान्जीलाई मैदान उतार्दा चितवन एफसीले फ्रान्सका गोरान जेकोभ र इजिप्टका एल सायद सहवानलाई खेलाएको थियो। त्यस्तै ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिच र अजरबैजानका नुर्लान जाहिदलाई खेलाएको थियो।  

एनएसएलमा आएका २० विदेशी खेलाडीमा मेसौके सबैभन्दा अब्बल ठहरिए। प्रतियोगिताको पहिलो गोल मेसौकेकै नाममा थियो। संयोग के रह्यो भने मेसौकेले फाइनलमा धनगढीविरुद्ध गरेको गोल पहिलो सिजनको अन्तिम गोलसमेत बन्यो। ‘मलाई नेपाली फुटबलको बारेमा केही थाहा थिएन। 

दुई वर्षअघि पहिलो पटक नेपालमा व्यावसायिक फुटबल खेल्न आएको थिएँ,’ मेसौकेले भने, ‘संकटाबाट ‘ए’ डिभिजन लिग खेलेको थिएँ। तर त्यो लिग म र क्लब दुवैका लागि सोचेअनुरूप बन्न सकेन। म अर्को पटकको लिगमा आफ्नो क्षमता थप प्रमाणित गर्ने योजनामा थिएँ। एनएसएल मेरा लागि क्षमता प्रमाणित गर्ने अवसर बन्यो।’

मेसौकेको तेजलाई रोक्न सबै टोलीका रक्षकलाई कठिन थियो। क्वालिफायरमा काठमाडौंले ललितपुरविरुद्ध ३–० को जितका साथ फाइनलमा स्थान बनाएसँगै ललितपुरका प्रशिक्षक राजु तामाङले मेसौके र स्टेफिन बिनोङको तेज गतिलाई रोक्न नसक्दा नतिजा सुम्पिनुपरेको बताएका थिए। सन् २०१० मा १२ वर्षको उमेरमा मेसौके स्थानीय कुफो फुटबल एकेडेमीमा भर्ना भए। ४ वर्ष कुफो एकेडेमीमा बिताएका मेसौकेले सन् २०१४ मा क्यामरुनको यु–१७ राष्ट्रिय टोलीमा स्थान बनाए। क्यामरुन यु–१७ बाट सन् २०१५ को अफ्रिकन कप अफ नेसन्स खेलेका मेसौकेले खुट्टाको चोटकै कारण एक वर्ष फुटबलबाट अलग हुनुप¥यो।

‘खुट्टाको चोटका कारण करिब १ वर्ष म फुटबलबाट टाढा बसें’ मेसौकेले भने, ‘चोटमुक्त भएसँगै मैले इसिकाकै स्थानीय क्लबबाट त्यहाँ स्थानीय प्रतियोगिताहरू खेलें। सन् २०१९ मा नेपालमा व्यावसायिक लिग खेल्न आएँ। यो नै मेरो पहिलो व्यावसायिक लिग थियो।’ मेसौकेले ‘ए’ डिभिजन लिगको तुलनामा एनएसएल धेरै कठिन रहेको र यहाँ खेलाडीहरू रणनीतिक रूपमा अब्बल रहेको बताए। 

‘एनएसएल मेरा लागि अविस्मरणीय प्रतियोगिता बन्यो,’ मेसौकेले भने, ‘मैले यसै प्रतियोगितामार्फत जीवनकै पहिलो ह्याट्रिक पूरा गरें। त्यसैले विराटनगर सिटीविरुद्ध ५–४ को जितका साथ प्लेअफमा स्थान बनाएको खेल म कहिल्यै बिर्सने छैन। यो मेरो पहिलो उपाधिसमेत हो, त्यसैले एनएसएल मेरा लागि विशेष बन्यो।’ मेसौकेले प्रतियोगितामा आगामी सिजन थप कठिन हुने बताए।

‘यस पटक कोरोना महामारीका कारण मैदानमा प्रत्यक्ष रूपमा दर्शकको उपस्थिति भएन,’ मेसौकेले भने, ‘तर पनि प्रत्यक्ष प्रसारणमार्फत खेल हेरी मलाई समर्थन गर्दै सन्देश पठाउने समर्थकप्रति आभारी छु। साथै मेरो क्लब व्यवस्थापन, टोली सहयात्री र प्रशिक्षण टोलीलाई पनि विशेष धन्यवाद।’ मेसौकेलाई फुटबलसँगै जिम्न्यास्टिकमा पनि विशेष रुचि थियो। 

उनी आफ्ना साथीहरूसँग जिम्न्यास्टिकमा रमाउने गर्दथे। तर एक दिन आमाले गाली गरेसँगै उनले आफ्नो सम्पूर्ण ध्यान फुटबलमै केन्द्रित गरे। ‘मलाई फुटबल खेल्न मन लाग्थ्यो। त्योभन्दा पनि बढी रुचि जिम्न्यास्टिकमा थियो। तर एक दिन साथीहरूसँग खेलिरहँदा मलाई आमाले गाली गर्नुभयो,’ मेसौकेले भने, ‘उहाँले जिम्न्यास्टिक खेल्दा घाइते भए अस्पताल नै लैजान्न भन्नुभयो। त्यसपछि म फुटबलमा मात्र केन्द्रित भएँ।’ 

प्रकाशित: ३ जेष्ठ २०७८ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App