१६ चैत्र २०८० शुक्रबार
खेल

नेपाल सुपर लिग: धनगढी र काठमाडौंबीच उपाधि भिडन्त

मिडफिल्डर मेसौके ओलोमोउको दुई गोलप्रेरित काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको क्वालिफायरमा काठमाडौंले ललितपुर सिटीमाथि ३–० को सहज जितका साथ फाइनलमा स्थान पक्का गरेको हो। शनिबार हुने फाइनलमा धनगढी र काठमाडौं आमनेसामने हुनेछन्। 

यसअघि धनगढी मंगलबार पहिलो प्लेअफमा काठमाडांैमाथि नै पुनरागमनमा २–१ को जितका साथ फाइनल पुगेको थियो। धनगढीसँग पराजित काठमाडौंले दोस्रो प्लअ‍ेफको विजेतासँग क्वालिफायरमा खेल्दै फाइनल प्रवेश गर्ने अवसर पाएको हो। ललितपुर भने बुधबार दोस्रो प्लअ‍ेफमा बुटवल–लुम्बिनीमाथि १–० को जितका साथ क्वालिफायरमा स्थान बनाएको थियो।

लिगका अन्तिम दुई खेलमा जितको लयमा फर्किएको ललितपुरले बुटवलविरुद्ध पनि निरन्तरता दिएको थियो। तर, राजु तामाङको टोली ललितपुरले क्वालिफायरमा बालगोपाल महर्जनको टोली काठमाडौंको चुनौती भने पार गर्न सकेन। प्रतियोगिताको उद्घाटन खेलमा पनि काठमाडौंले ललितपुरलाई १–० ले हराएको थियो। खेलको १४औं मिनेटमा मेसौकेले पेनाल्टीको अवसर  

सदुपयोग गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए। ललितपुरका रक्षक कमल श्रेष्ठले स्ट्राइकर स्टेफिन बिनोङमाथि फाउल गरेपछि काठमाडौंले पेनाल्टीको अवसर पाएको थियो। त्यसको आठ मिनेटपछि नै मेसौकेले व्यक्तिगत दोस्रो गोल पूरा गर्दै काठमाडौंको अग्रता दोब्बर पारे।

६०औं मिनेटमा स्टेफिन बिनोङले बललाई जाली चुमाउँदै काठमाडौंको अग्रता ३–० मा पुर्‍याए। ‘हाम्रो लक्ष्य फाइनल प्रवेश थियो, जुन पूरा भएको छ,’काठमाडौंका प्रशिक्षक महर्जनले भने, ‘हामीले आज ललितपुरविरुद्ध पाएको अवसर सदुपयोग गर्‍याैं। त्यो नै जितको आधार बन्यो। आज स्टेफिन र मेसौकेले उत्कृष्ट प्रदर्शन गरे।’ महर्जनले फाइनलमा धनगढीको सामना गर्दा यसअघि व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने बताए। ‘पहिलो संस्करणको फाइनलमा स्थान बनाएका छौं। हामीले धनगढीलाई लिगमा ३–० र प्लेअफमा २–१ को नतिजा सुम्पिएका थियाैं। शनिबार फाइनलमा भिड्दा यसअघिका हारको बदला लिँदै उपाधि जित्न चाहन्छाैं।’  

यसअघि खेलको आठौं मिनेटमा नै ललितपुरले अग्रताको अवसर पाए पनि सदुपयोग भने गर्न सकेन। नुर्लान जाहिदको क्रसमा काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथु बिट भैसक्दासमेत क्रोएसियाका भिलिम पोसिन्कोभिथले बललाई जाली चुमाउन सकेनन्। त्यसको एक मिनेटपछि नै काठमाडौंले अग्रताको अवसर पाएको थियो।  

तर, स्टेफिनको प्रहार बारमा लागेर फर्किन पुग्यो। २८औं मिनेटमा ललितपुरले अग्रता कम गर्ने अवसर पायो। तर कप्तान अञ्जन विष्टको पासमा गौरभ बुढाथोकी खाली पोस्टमा गोल गर्न चुके। ‘हामीले सुरुआतमै पाएको अवसर सदुपयोग गर्न सकेनाैं। त्यो अवसर सदुपयोग गरेको भए नतिजा जे पनि हुन सक्थ्यो,’ललितपुरका प्रशिक्षक राजु तामाङले भने, ‘हामीले बुधबार मात्र बुटवलविरुद्ध प्लेअफ खेलेका थियौ। २४ घण्टासमेत नबित्दै काठमाडौंजस्तो बलियो टोलीविरुद्ध खेल्न कठिन भयो। खेलाडी थकित देखिए। जसका कारण हामीले काठमाडांैका दुई विदेशी खेलाडी (स्टेफिन र मेसौके)को गतिलाई रोक्न सकेनौं।’

प्रकाशित: ३१ वैशाख २०७८ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App