८ वैशाख २०८१ शनिबार
खेल

नेपाल सुपर लिग: अग्रता उल्ट्याउँदै धनगढी फाइनलमा

काठमाडौंविरूद्ध बल अगाडि बढाउँदै धनगढीका पूजन उपरकोटी। तस्बिर: नागरिक

विशाल राईको गोलमा उत्कृष्ट पुनरागमनका साथ धनगढी एफसी नेपाल सुपर लिग (एनएलएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो प्लेअफमा धनगढीले काठमाडौं रेजर्समाथि २–१ को जितका साथ फाइनलमा स्थान सुरक्षित गरेको हो। 

लिग चरणमा धनगढीले काठमाडौंमाथि ३–० को जित हात पारेको थियो। काठमाडौं शीर्ष स्थानमा बस्दै प्लेअफमा प्रवेश गर्दा धनगढी भने दोस्रो स्थानमा रहेको थियो। पहिलो प्लेअफमा निराश बनेको काठमाडांैले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो प्लेअफको विजेतासँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो प्लेअफमा बुधबार ललितपुर सिटी एफसी र बुटवल–लुम्बिनी एफसीबीच हुनेछ।  

निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्फ धकेलिएको थियो। १०८औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले बललाई जाली चुमाउँदै धनगढीको फाइनल यात्रा पक्का गरेका थिए। डिफेन्डर रमेशले ओलावाले अफिजको स्थानमा फरवार्डको जिम्मेवारी समालेका थिए। यसअघि खेलको ७५औं मिनेटमा तेज तामाङको गोलबाट काठमाडौंले अग्रता लिएको थियो। मेसुके ओलोमोउको पासलाई तेजले पोस्टको दिशा दिएका थिए। तर, काठमाडांैले आफ्नो अग्रता धेरै समय टिकाउन सकेन। त्यसको तीन मिनेटपछि नै धनगढी खेलमा फर्किन सफल भयो। निशान लिम्बुको कर्नर प्रहार काठमाडौंका कप्तान तथा गोलकिपर विकेश कुथुले पञ्च गरे।  

लगत्तै कुथु फ्यांकलिन टेल्लाको हेडर बचाउन अघि बढे। कुथु आफ्नो स्थानमा नरहेको अवसरको फाइदा उठाउँदै पूजन उपरकोटीले एक्रोब्याटिक गोलमा धनगढीलाई खेलमा फर्काए। ‘हामीले रणनीतिअनुसार नै खेल्यौं,’ धनगढीका प्रशिक्षक तोपे फुजाले भने, ‘१–० ले पछि परे पनि टोलीले स्वाभाविक लय गुमाएनन्। त्यो नै जितको आधार बन्यो। स्ट्राइकर ओलावाले आफिज पूर्ण रूपमा फिट थिएनन्। तर पनि हामीले विपक्षी रक्षकहरूलाई दबाबमा राख्न उनलाई पहिलो रोजाइमा मैदान उतारेका हौं। अतिरिक्त समयमा ओलावालेको स्थानमा हामीले रक्षक रमेश दंगाललाई अग्रपंक्तिमा पठायाैं। टोलीका लागि यो नौलो प्रयोग थियो। रमेशलाई मैदान प्रवेश गराउँदै अग्रपंक्तिमा खेलाउने निर्णय सही साबित बन्यो।’

रमेशकै हेडरमा विशालले टोलीका लागि निर्णायक गोल गरेका थिए। यता, काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरूले स्वाभाविक प्रदर्शन गरे पनि रक्षक र गोलकिपरको तालमेल अभावका कारण अग्रता जोगाउन नसक्दा धनगढीलाई नतिजा सुम्पिनपरेको बताए। ‘हामीले अग्रता लिए पनि त्यसको तीन मिनेटपछि नै गोलकिपर र रक्षकबीच तालमेलको अभावमा धनगढीलाई खेलमा फर्कने अवसर दियौं,’ महर्जनले भने, ‘अतिरिक्त समयमा पनि हामीले धेरै अवसर पायौं। तर त्यसको सदुपयोग भने गर्न सकेनौं। ६ यार्डमा पाएको अवसरसमेत खेलाडीले पोस्टको दिशा दिन सकेनन्।’ महर्जनले आफ्नो टोलीको उपाधि लक्ष्यका लागि अझै एउटा अवसर रहेको र त्यसमा जित हात पार्दै फाइनल प्रवेश गर्नेमा आशावादी रहेको बताए।

प्रकाशित: २९ वैशाख २०७८ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App