१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महानगरकै अग्लो भागमा खेल मैदान बन्दै

आँटीघर मौजामा निर्माणाधिन फुटबल मैदानको दक्षिण तर्फ रिटेनिङ पर्खाल लगाउँदै । तस्बिर नागरिक

आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।  

पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले महानगरको सबैभन्दा उच्च क्षेत्रमा खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार त्यहाँ बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो । ‘आर्थिक वर्ष सकिनै लाग्दा काम भने धमाधम छ,’ पोखरा–२० का वडाध्यक्ष सीम गुरुङले भने–‘१५÷२० जनाले नियमित रुपमा काम गरिरहेका छन् । बाहिरी व्यक्तिको प्रवेश गाँउमा छैन् ।’  

उनका अनुसार गत आर्थिक वर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट बाट जमिन सम्याउने काम गरिएको थियो ।  महानगरकै उचाई (१७ सय मिटर उचाई)मा निर्माणाधिन अवस्थामा रहेको मैदानलाई दीर्घकालिन योजना अन्तर्गत बजेट विनियोजन हुने उनले बताए । डिपिआर पछि छुट्टाइएको बजेटबाट जमिन सम्याउने र रिटेनिङवाल लगाउने काम गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ ।  

कास्कीकै अग्लो स्थानको फुटबल मैदान पोखरा महानगरपालिका वडा नं २० मौजाका वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान बनाउन महानगरपालिकासँगै स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।  

वडाध्यक्ष गुरुङ भन्छन–‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदानसँगै अतिथिहरुको लागि होमस्टे गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनु अघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औल्याईसकेका थिए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । 

प्रकाशित: २८ वैशाख २०७८ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App