८ वैशाख २०८१ शनिबार
खेल

सिटीको उपाधि उचाल्ने समय धकेलियो

प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई शनिबार चेल्सीले २–१ ले पराजित गर्दा सिटीको उपाधि पक्का गर्ने समीकरण पनि धकेलिएको छ। आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटीले भ्रमणकारी टोली चेल्सीलाई नतिजा सुम्पिँदा उपाधि पक्का गर्ने समीकरण पनि पछि धकेलिएको छ। 

च्याम्पियन्स लिग फाइनलमा पुगिसकेका टोलीबीचको यो प्रतिस्पर्धालाई तयारीको रूपमा लिइएको छ। पराजयले सिटीलाई फाइनलमा सुधारको पाठ सिकाएको छ भने चेल्सीको मनोबल उच्च बनाएको छ। पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाएको सिटीले चेल्सीविरुद्ध लिएको सुरुआती अग्रता कायम राख्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो। सोही कारण सिटीले उपाधि पक्का गर्न दोस्रो स्थानको टोली म्यानचेस्टर युनाइटेडको पराजय या आफ्नो अर्को खेल कुर्नुपर्ने भयो। 

तर,आइतबार युनाइटेडले एस्टन भिल्लामाथि ३–१ को जित निकालेपछि सिटीको उपाधि यात्रा अझै लम्बिएको छ। सिटीलाई घरेलु मैदानमा सुरुआती अग्रता दिलाउन सर्जियो अग्वोरोको पासमा ४४औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरेका थिए। चेल्सीले दोस्रो हाफमा बराबरीसँगै अग्रता पनि उल्टायो। त्यसअघि पहिलो हाफको अतिरिक्त समयमा सिटीका अग्वोरोले पेनाल्टी अवसर गुमाएका थिए। चेल्सीका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टी अवसरमा अग्वोरोको फितलो प्रहार चेल्सीका गोलकिपर एडवार्ड मेन्डीले सहजै नियन्त्रणमा लिए। 

दबाबका बाबजुत पनि दोस्रो हाफको ६३औं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। हकिम जिएचले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। इन्जुरी समयमा मार्कोस अलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। रोमाञ्चक जित निकालेको चेल्सी अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यसअघि लेस्टरलाई पछि पार्दै चेल्सी शीर्ष तीनमा फर्किएको हो। चेल्सीले लेस्टरलाई १ अंकले पछि पारेको छ। चेल्सीले ३५ खेलबाट ६४ अंक जोड्दा सिटी ८० अंकका साथ शीर्ष स्थानमा यथावत छ। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट देखिएनन्। 

‘पाएका मौकालाई सदुपयोग गर्न सकेनौं। पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी चुकाउँदा खेलाडीमा मनोवैज्ञानिक असर देखियो,’प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यद्यपि हामीले बलमा पकड जमाएका थियौं। दबाब दिएर खेले पनि जित निकाल्न असफल भयौं।’

यस्तै उपाधिनजिक पुगेको टोली सिटीविरुद्ध जित निकालेको चेल्सीका प्रशिक्षक थोमस टुचेलले पेनाल्टी पछि खेल चेल्सीको पोल्टामा परेको प्रतिक्रिया दिए। ‘पेनाल्टी अवसर सदुपयोग भएको हुन्थ्यो भने हामी २–० ले पछाडि रहन्थ्यौं। खेलमा फर्किन निकै कठिन हुने थियो,’चेल्सीका प्रशिक्षक टुचेलले भने, ‘दोस्रो हाफमा टोलीले गरेको प्रदर्शन तारिफयोग्य थियो। पछि परेको अवस्थामा स्पष्ट अंक लिन भाग्यले पनि साथ दिनुपर्छ। आजको खेलमा हामीलाई भाग्यले पनि साथ थियो।’  

शनिबारकै अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हराउँदै शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ। लिभरपुललाई जित दिलाउन साडियो मानेले ३१औं मिनेटमा र थियागो अलकान्टाराले अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्पष्ट जित दिलाएका थिए। ३४ खेलबाट ५७ अंक जोडेको लिभरपुल अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। चौथो स्थानमा रहेको लेस्टरभन्दा लिभरपुल ६ अंकले पछि छ। ३५ खेल खेलेको लेस्टरको ६३ अंक छ। लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकाल्यो।

प्रकाशित: २७ वैशाख २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App