६ वैशाख २०८१ बिहीबार
खेल

नेपाल सुपर लिग: काठमाडौं शीर्षमा रहँदा जितविहीन बन्यो चितवन

काठमाडौं रेजर्स र चितवन एफसी आइतबार नेपाल सुपर लिग (एनएसएल) को अन्तर्गत लिग चरणको अन्तिम खेलमा आमनेसामने भए। काठमाडौं जितका साथ शीर्ष स्थानमा बस्न चाहन्थ्यो। यता चितवन भने प्रतियोगितामा जितको स्वाद चाख्दै प्रतिष्ठाको लडाई जित्ने दाउमा थियो।  

काठमाडौं प्लेअफमा पुगिसकेको टोली हो भने चितवन प्रतियोगिताबाट बाहिरिसकेको थियो। दुवै टोलीबीच पाँचौं चरणको नतिजामा एउटा संयोग रह्यो। आफ्नो पाँचौं चरणको खेलमा काठमाडांैले विराटनगर सिटी एफसीमाथि ५–४ को जितका साथ प्लेअफमा स्थान पक्का गर्दा चितवन भने पोखरा थन्डर्ससँग २–१ ले निराश हुँदै लिगबाटै बाहिरिने पक्का थियो। शनिबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्लेअफमा प्रवेश गरेसँगै प्रतियोगिताको प्लेअफ समीकरण पूरा भएका थिए। जसअन्तर्गत पहिलो प्लेअफमा शीर्ष दुईका धनगढी एफसी र काठमाडौं तथा दोस्रो प्लेअफमा ललितपुर र बुटवलबीचको प्रतिस्पर्धा तय भए।  

तर, काठमाडौं शीर्षमा बस्न चाहन्थ्यो भने चितवन पनि जितको साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यद्यपि, पहिलो हाफमा रक्षापंक्तिले गरेका दुई गम्भीर गल्तीका कारण चितवनको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन। काठमाडौंले लिगको शीर्ष स्थानमा बस्ने क्रममा चितवनको चुनौती २–१ ले पन्छ्यायो। १६औं मिनेटमा मेसुके ओलोमोउको गोलबाट काठमाडौंले अग्रता लिएको थियो। मेसुकेले चितवनको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए। जारी प्रतियोगितामा मेसुकेको यो छैटौं गोल हो र उनी शीर्ष गोलकर्तासमेत हुन्।

३३औं मिनेटमा संजोक राईले काठमाडौंको अग्रता दोब्बर पारे। संजोकले यस पटक पनि चितवनको रक्षापंक्तिको कमजोरीको फाइदा उठाए। तर, ३९औं मिनेटमा राजीव लोप्चनको गोलबाट चितवनले खेलमा फर्कने संकेत गरे पनि पर्याप्त भएन। सुनील श्रेष्ठको प्रहार काठमाडौंका गोलकिपर विनय श्रेष्ठले रोक्दा रिबाउन्डमा प्राप्त बललाई राजीवले जाली चुमाएका थिए। यस जितपछि काठमाडौं १३ अंकका साथ शीष स्थानमा छ। धनगढी एफसी १० अंकसहित दोस्रो स्थानमा रहँदा ललितपुर ९ अंकका साथ तेस्रो स्थानमा छ।  

समान ८ अंक जोडेका बुटवल र पोखरा क्रमशः चौथो र पाँचौं स्थानमा छन्। ७ अंक बटुलेको विराटनगर छैटाैं स्थानमा रहँदा प्रतियोगितामा जितविहिन चितवनले २ अंक मात्र बटुल्यो। पहिलो दुई खेलमा बराबरीको नतिजा ल्याएको चितवनले अन्तिम चार खेलमा भने लगातार हार बेहो¥यो। मंगलबार हुने पहिलो प्लेअफमा शीर्ष स्थानको काठमाडौं र दोस्रो धनगढी आमनेसामने हुनेछन्। यस खेलको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफको विजेतासँग खेल्नेछ। दोस्रो प्लेअफमा ललितपुर र बुटवलबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २७ वैशाख २०७८ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App