coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नविन, मोफसलका उदाउँदा किपर

उदाउँदा किपर नविन पोखरेल । तस्बिर : दमन राई/नागरिक

साथीभाईले किपर खेल्न नसुझाएका भए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा (हर्कपुर)का नविन पोखरेल फुटबलमा मिडफिल्डर, डिफेण्डर वा यस्तै खेलिरहेका हुन्थे । तर, सँगै खेलिरहेका साथीभाईको सुझाव शिरोपर गरेका पोखेरल अहिले जिल्लामा उदाउँदा गोल किपरको परिचय बनाउँदैछन् । उनलाई सानैदेखि फुटबल मोह थियो । 

गाउँघरमा थोत्रो मोजा, थाङ्नादेखि प्लाष्टिकको पोकोको भकुण्डो बनाएर साथीभाईसँग फुटबलको रहर मेट्थे । उनमा राम्रो फुटबलर बन्ने सपना थियो । सरस्वती माबि दिक्तेलमा कक्षा ८ मा पढ्दाताका एक दिन मनोरञ्जनकै लागि दिक्तेलकै हेलीप्याडमा साथीभाईबीचमा फुटबल प्रतिष्पर्धा भयो । सेक्सन–सेक्सनबीचको सो खेल पेनाल्टीमा पुग्यो । किपर खेलिरहेका नविनले पेनाल्टी छेके र आफ्नो टिमलाई जिताए । त्यहीबेला साथीहरुले ‘सम्भावना राम्रो छ’ भन्दै किपर खेल्न सुझाएपछि उनी नियमित किपर मात्र खेल्न थालेको बताउँछन् ।

‘म त्यो बेला १४ वर्षको थिएँ । मलाई डाइभ गर्न आउँदैनथ्यो । पेनाल्टी छेक्नअघि साथीभाईले डाईभ गर्न सिकाए । पेनाल्टी छेक्न पनि सफल भएँ,’ नविनले विगत सम्झिए, ‘त्यसपछि साथीभाईले तिम्रो किपरमा राम्रो छ, किपर नै खेल्ने गर्नु भनेर सल्लाह दिए । तर सानो छँदा फुटबल खेलाडी बन्ने भन्ने रहर थियो ।’  

साथीभाईले ‘राम्रो सम्भावना रहेको’ भन्दै फुक्र्याएपछि उनले खोटाङ फुटबल एकेडेमी (केएफए)बाट केही समय प्रशिक्षण पनि लिए । पोष्टतिर आएको बल समाउने अभ्यास पनि गर्दै गए । नभन्दै कक्षा १० अध्ययन गर्दाताकादेखि उनले जिल्लाका विभिन्न ठाउँमा हुने फुटबल प्रतियोगीतामा किपरका रुपमा सहभागी बन्न अवसर पाउन थाले । अहिले पनि जिल्लामा हुने फुटबल प्रतियोगीतामा उनलाई सम्भावना बोकेको किपरका रुपमा मैदानमा देखिन्छन् । प्रायःजसो खेलमा उनले ‘बेष्ट किपर’को उपाधि पाउने गरेका छन् । कतिपय खेलमा ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि पनि जितेका छन् । दर्शकले पनि उनको किपर कौशललाई प्रशंसा गर्ने गरेका छन् । किपर बन्ने सपना पुरा गर्नेक्रममा उनी तालिमका लागि भौतारिँदै काठ्माण्डौं पनि पुगे तर कक्षा १२ को पढाईका कारण उनी घर नै फर्के ।  

बुवा लेखनाथ र आमा सिता पोखरेलको जेठो सन्तान हुन् नविन । हाल १८ वर्ष पुगेका उनी हाल कक्षा १२ मा सरस्वती माबि दिक्तेलमा अध्ययनरत छन् । उनी २०६० साल फागुन ७ गते जन्मिएका हुन् । उनका तीन भाई छन् । उनलाई अहिलेका राष्ट्रिय फुटबल टिमका चर्चित किपर किरण चेम्जोङजस्तै चम्कने रहर छ । त्यसका लागि पढाइ र किपर बन्ने सपनालाई सँगै अगाढि बढाउने नविनले बताए । अहिले नविनलाई जिल्लामा किपरका रुपमा चिन्ने धेरै छन् । केही समयपछि काठ्माण्डौं गएर किपरका लागि ट्रायल दिने उनले बताए । ‘यही क्षेत्रमा अगाडि बढ्ने लक्ष्य छ, घरबाट पनि राम्रो सपोर्ट छ,’ उनले भने, ‘तर गाउँ–ठाउँमा सपना भएर मात्र हुन्न रहेछ । प्रशिक्षणको व्यवस्था छैन, केही सिक्छु भन्नेका लागि कुनै वातावरण नै छैन ।  

खेलप्रतिको लगावकै कारण उनलाई फुटबल खेल्नका लागि कतै जान परे बुवाले खर्च नै दिएर पठाउने गरेका छन् । फुटबल खेलेर रात पारेर घर पुग्दा पनि उनले अभिभावकको कहिल्यै गाली खाएका छैनन् । बरु साथ र सहयोग पाइरहेका छन् ।

प्रकाशित: २६ वैशाख २०७८ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App