६ वैशाख २०८१ बिहीबार
खेल

सम्झौता भएपनि बजेट आएन

पोखरा रंगशाला

गत चैतमा पोखरा रंगशालामा दुईवटा काम गर्न उपभोक्ता समितिसँग राष्ट्रिय खेलकुद परिषदले सम्झौता गर्यो । चैतको १२ गते रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न सम्झौता भयो । चैत २३ गते पोखरा रंगशालाभित्रकै क्रिकेट मैदान संरक्षण गर्ने उद्देश्यसहित तारजाली(फेन्सिङ) लगाउन उपभोक्ता समितिसँग सम्झौता गरियो । दुवै सम्झौता गरिएको महिना दिन वित्यो । उपभोक्ता समितिले बैंकमा खाता खोले । तर राष्ट्रिय खेलकुद परिषदबाट सम्झौता अनुसार रकम भने खातामा आईपुगेन् । रकम खातामा नआउँदा काम अघि बढेन् ।  

पार्केटिङ गर्न पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समिति गठन गरिएको छ । समितिसँग परिषदले ९० लाख रुपैयाँमा पार्केटिङ गर्ने गरी सम्झौता गरेको हो । टेण्डर आह्वान गरिदाँ ढिलो हुने भएकोले बजेट घटाउँदै उपभोक्ता समिति मार्फत काम गर्ने गरी सम्झौता गरिएको हो । ‘सम्झौता पछि खाता खोल्यौं । तर पैसा आएको छैन्’ समितिका सचिव यामबहादुर गुरुङले भन, ‘पैसा नआउँदा काम ठप्पै छ ।’  

बैशाख दोस्रो साता नलाग्दै कोरोनाको दोस्रो लहर शुरु भईसकेको थियो । बैशाख ९ गतेदेखि जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराका कार्यालय प्रमुखद्वय प्रकाश बराल र लक्ष्मणप्रसाद योगीको हस्ताक्षरयुक्त सूचना टाँस गर्दै पोखरा रंगशालाभित्र कुनैपनि खेलकुदका गतिविधि नगर्न नगराउन भन्दै रोक लगाइयो । ‘पैसा आएको छैन् । यो वर्ष पैसा फ्रिज हुने सम्भावना बढ्दै गएको छ,’ जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष समेत रहेको निर्माण उपभोक्ता समितिका सचिव गुरुङले बताए ।  

पोखरा रंगशालाभित्रकै क्रिकेट मैदानको लागि २५ लाख रुपैयाँ छुट्टाइएको थियो । छुट्टाइएको बजेटबाट कास्की जिल्ला क्रिकेट संघले मैदान संरक्षण गर्न फेन्सिङ लगाउने निर्णय गरेको थियो । फेन्सिङ लगाउने निर्णयसँगै पोखरा रंगशाला क्रिकेट मौदन निर्माण उपभोक्ता समितिसँगै परिषदले चैत २३ गते सम्झौता गरेको हो । ‘पैसा आएको छैन् । पैसा नआएपछि कसरी काम गर्ने हो,’ समितिका अध्यक्ष कमल थापाले बताए ।  

कोरोनाको दोस्रो लहरसँगै कडा निषेधाज्ञा शुरु हुन पुग्यो । निषेधाज्ञाकै कारण कामहरु ठप्प भएका छन् । राष्ट्रिय खेलकुद परिषदका प्रशासनिक विभागीय प्रमुख कुलबहादुर थापाले सम्झौताको फाईल निषेधाज्ञाको दुई दिन अघि मात्रै आईपुगेको प्रष्ट्याए । ‘लकडाउन हुनुभन्दा दुई दिन अघि मात्रै कागजपत्र आईपुग्यो,’ उनले भने । बर्तमान अवस्था कहिलेसम्म लम्बिन्छ यकिन छैन् । यद्यपी राखेपका कार्याकारी समितिका सचिव समेत रहेको थापाले समितिले काम गरेर टुग्याए परिषदले बजेट निकासा गरिदिने बताए । 

प्रकाशित: २४ वैशाख २०७८ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App