८ वैशाख २०८१ शनिबार
खेल

‘आइपिएल आयोजना गर्नु गल्ती होइन’

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्। बायो सेक्युर ‘बबल’ मा बसेका खेलाडीमा संक्रमण बढ्न थालेपछि यस सिजनको आइपिएल गत मंगलबार स्थगित गरिएको थियो। 

यद्यपि, बिसिसिआईका प्रमुख गांगुलीले बिहीबार वर्तमान अवस्थामा आइपिएल सञ्चालन गर्नु कुनै गल्ती नभएको बताएका छन्। भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका कारण चार हजार मानिसको मृत्यु हुँदा चार लाखभन्दा बढि संक्रमित भएका छन्। 

अप्रिल ९ देखि आइपिएल सुरु हुँदा भारतमा एक करोड ३० लाख मानिस संक्रमित थिए, जुन अहिले बढेर दुई करोड १० लाख संक्रमित संख्या पुगिसकेका छन्। यसैबीच आइपिएल सञ्चालन गर्नु गल्ती थियो ? भन्ने प्रश्नमा बिसिसिआईका प्रमुख गांगुलीले अस्विकार गरेका छन्।

आइपिएल सञ्चालन गर्ने निर्णय गर्दा अवस्था नाजुक नभएको र त्यसपछि इङ्ल्यान्ड टोलीको भारत भ्रमण पनि सफलतापूर्वक रहेको गांगुलीले स्मरण गराए। इङ्ल्यान्डसँग चार खेलको टेस्ट शृंखलामध्ये अहमदाबादमा सम्पन्न अन्तिम दुई खेलमा केही मात्रामा समर्थकलाई पनि प्रवेश दिइएको थियो। देशभित्र अवस्था सामान्य रहेकाले नै गत सिजन संयुक्त अरब इमिरेट्समा सञ्चालित आइपिएल भारतमा ल्याइएको गांगुलीको भनाइ छ। 

‘पछिल्ला तीन हप्तामा मात्र संक्रमण हाम्रो आयोजनामा पैmलियो। हामीले युएईमा आयोजना गर्नेबारे पनि छलफल गरेका थियौं,’गांगुलीले भने। आठ टोलीका खेलाडी बायो बबलमा बसेयता १० खेलाडी कोरोना संक्रमित भएका थिए। तर, रोयल च्यालेन्जर्स बैङ्गलोरका चार, सनराइजर्स हैदराबाद र  

दिल्ली क्यापिटल्सका खेलाडी यसै हप्ता संक्रमित हुन थालेपछि प्रतियोगिता स्थगित हुन गरियो। गांगुलीले बबलमा बसेका टोलीमा संक्रमण कसरी फैलियो भन्न कठिन हुने बताएका छन्। उनले व्यावसायिक तवरबाट बायो बबलको व्यवस्थापन गरिए पनि कुनै पनि प्रतियोगिता महामारीलाई रोक्ने क्षमताको हुन नसक्ने औंल्याए। 

त्यसको उदाहरण गांगुलीले गत सिजन इङ्लिस प्रिमियर लिगमा खेलाडी संक्रमण भएको प्रमाण दिएका छन्। ‘म्यानचेस्टर सिटी र आर्सनलका खेलाडी संक्रमित हुँदा खेलहरूको नयाँ तालिका पनि तय गरिएका थिए। उनीहरूको सिजन धेरै लामो छ,’गांगुलीले भने, ‘तर हाम्रो सिजन निकै साँघुरो छ। देशका लागि खेलाडीलाई छोड्नुपर्ने हुन्छ। त्यसैले नयाँ तालिका बनाएर खेल सञ्चालन गर्न कठिन हुन्छ।’ 

प्रकाशित: २४ वैशाख २०७८ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App