६ वैशाख २०८१ बिहीबार
खेल

चेल्सी तेस्रोपल्ट फाइनलमा

स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध दोस्रो लेगमा बुधबार २–० को जित निकालेको चेल्सीले समग्रमा ३–१ को नतिजा हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा भ्रमणकारी टोली रियाललाई दबाबमा राखेको थियो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दुवै टोली दोस्रो लेगमा जितको खोजीमा मैदान उत्रिएका थिए। 

चेल्सीले मे २९ मा टर्कीको राजधानी इस्तानबुलमा अर्को इङ्लिस टोली म्यानचेस्टर सिटीसँग उपाधिका लागि चुनौती प्रस्तुत गर्नेछ। टिमो वेर्नरले २८औं मिनेटमा गोल चेल्सीलाई अग्रता दिलाएका थिए। काई हाभर्टको सट माथिल्लो बारमा ठोक्किएर आएको बललाई वेर्नरले हेडमार्फत जाली चुमाएका थिए। अधिकांश समय बलमा पकड जमाएको चेल्सीले पहिलो हाफमा थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन। केही प्रहार बारमा लागेर बाहिरिएको थियो। 

पिएसजीबाट बर्खास्त भएका प्रशिक्षक थोमस टुचेलले सम्हालेको चेल्सीले दोस्रो हाफमा पनि रियाललाई दबाबमा राख्यो। खेल सकिन पाँच मिनेट बाँकी रहँदा मासन माउन्टले गोल थप्दै टोलीको अग्रता दोब्बर पारे। त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र चेल्सी स्पेनिस क्लबमाथि सहज जित निकाल्दै युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिनजिक पुग्न सफल भयो।  

‘स्पष्ट जितको लक्ष्यमा केन्द्रित रहेर खेल्ने रणनीतिमा थियौं। घरेलु मैदान भएकाले मनोबल पनि उच्च थियो,’गत सिजन पिएसजीलाई च्याम्पियन्स लिगको फाइनल खेलाएका चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘टोलीले तारिफयोग्य प्रदर्शन ग¥यो। जसका कारण नतिजा हाम्रो पक्षमा आयो।’ चेल्सीले गत जनवरीमा फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेपछि टुचेलले जिम्मेवारी सम्हालेका थिए। 

चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो। त्यसअघि सन् २००८ मा पनि चेल्सीले च्याम्पियन्स लिगको फाइनलमा खेलेको थियो। चेल्सी सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो। तर, सन् २०१२ मा भने चेल्सीले जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै च्याम्पियन्स लिग जितेको थियो। रियालका करिम बेन्जिमाले प्रभाव जमाउने प्रयास गरे पनि अवसर सदुपयोग गर्न सकेनन्।  

‘फरवार्ड लाइन राम्रो बनाउने प्रयासमा नै बित्यो,’रियालका प्रशिक्षक जिदानले भने, ‘राम्रा अवसर पनि सदुपयोग हुन सकेनन्। टोली विपक्षीको दबाबमा रह्यो र नतिजा पनि सुम्पिन पुग्यो।’ 

प्रकाशित: २४ वैशाख २०७८ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App