coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कुशल आइसिसीको मनोनयनमा

डेब्यु प्रतियोगितामा नै यादगार प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन्।

नेदरल्यान्ड र मलेसियासँग घरेलु भूमिमा सम्पन्न त्रिकोणात्मक शृंखलामार्पmत डेब्यु गरेका कुशल पाकिस्तानका कप्तान बाबर आजम र फखर जमानसँगै अप्रिल महिनाको आइसिसी प्लेयर अफ दी मन्थको मनोनयनमा परेका हुन्। कुशलले गत महिना सम्पन्न शृंखलाको पाँच इनिङमा चार अर्धशतक बनाएका थिए। त्यसक्रममा उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्युपश्चात् लगातार तीन अर्धशतकको कीर्तिमान बनाउँदा सर्वाधिक २ सय ७८ रन बटुले। नेपालले ११ वर्षपछि घरेलु भूमिमा उपाधि जित्दा उनी प्लेयर अफ सिरिज घोषितसमेत भए। सोही प्रदर्शनका आधारमा २४ वर्षे कुशल विश्व क्रिकेटका महारथी पाकिस्तानका कप्तान बाबर र फखरसँगै मनोनयनमा पर्न सफल भएका हुन्।  

पछिल्ला समय उत्कृष्ट लयमा रहेका बाबर एकदिवसीयमा विश्व नम्बर एक र ट्वान्टी–२० मा विश्वको तेस्रो वरीयताका ब्याट्सम्यान हुन्। दक्षिण अफ्रिकासँगको तीन एकदिवसीय शृंखलामा बाबरले १०३ रन, ३१ रन र ९४ रन जोडेका थिए। सोही टोलीविरुद्धको ट्वान्टी–२० शृंखलामा पनि कुल २ सय १ रन बटुल्दा उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए। दुई वटै शृंखलामा उनी प्लेयर अफ दी सिरिज पनि भएका थिए। अप्रिलमा सात ट्वान्टी–२० खेल्ने क्रममा उनले कुल ३ सय ५ रन बटुलेका थिए। सोही प्रदर्शनका कारण उनी गत महिनाको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन्।  

फखर जमानले पनि दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय शृंखलामा सर्वाधिक ३ सय २ रन बटुल्दा दुई शतकसमेत बनाएका थिए। दोस्रो एकदिवसीयमा उनी दोहोरो शतकबाट चुक्दा १ सय ९३ रनमा रनआउटको शिकार भएका थिए। सोही प्रदर्शनका कारण उनी पनि गत महिनाको उत्कृष्ट तीन क्रिकेटरको सूचीमा पर्न सफल भए। आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई प्लेयर अफ दी मन्थको मनोनयनमा सार्वजनिक गरेको हो। आइसिसीकै प्यानल र खुला मतअनुसार यस अवार्डको विजेता घोषणा हुनेछ। आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतको १० प्रतिशत भार हुनेछ। आइसिसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ। दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ। 

प्रकाशित: २३ वैशाख २०७८ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App