७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडीमा संक्रमण बढेपछि आइपिएल स्थगित

खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मंगलबार स्थगित भएको छ। पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक र दुई स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि आइपिएलका खेल स्थगित भएका हुन्। 

कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्थी र सन्दीप वारियरमा कोरोना संक्रमण हुँदा सोमबार पनि कोलकाता र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल स्थगित भएको थियो। तर, मंगलबार पनि चेन्नई सुपर किङ्सका बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र दुई स्टाफ, सनराइजर्स हैदराबादका ऋद्धिमान साह र दिल्ली क्यापिटल्सका अमित मिश्रामा कोरोना पोजिटिभ देखिएपछि यस सिजनको आइपिएल रोकिएको हो।

आगामी अक्टोबर र नोभेम्बरमा तय ट्वान्टी–२० विश्वकपको तयारी पनि गरिरहेको भारत हाल कोरोना संक्रमणको निकै दयनीय अवस्थामा पुगिसकेको छ। बायो सेक्युर बबलमा बसेका खेलाडी नै संक्रमित भएपछि भारतको विश्वकप आयोजनामै खतरा सिर्जना भएको छ।

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले सबै अन्तर्राष्ट्रिय खेलाडीलाई भारतबाट सुरक्षित घर फर्काउने तयारी भइरहेको बताएका छन्। क्रिकेट अस्ट्रेलियाले पनि आफ्ना खेलाडी, प्रशिक्षक र कमेन्टेटरलाई सुरक्षित घर पठाउनेमा बिसिसिआईले विश्वास दिलाएको जनाएको छ। यद्यपि, अस्ट्रेलियाले आगामी मे १५ सम्म भारतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाइसकेको छ। भारतमा दोस्रो चरणमा कोरोना लहर फैलिएपछि गत अप्रिलदेखि आइपिएल सुरु भए पनि विभिन्न पक्षबाट आलोचना सुरु भएको थियो।  

खेलाडी र कमेन्टेटरले नै स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता रहेको बताइरहँदा एक भारतीयले भने मंगलबार नै आइपिएल रोक्न अदालतमा मुद्दा नै दायर गरेका थिए। भारतका रविचन्द्रन अविश्नसहित अस्ट्रेलियाका दुई र इङ्ल्यान्डका एक खेलाडी यस सिजनको आइपिएल नै छाडेर घर फर्किसकेका छन्। संक्रमणले निकै प्रभावित दिल्ली र मुम्बईसहित ६ शहरमा आठ टोलीबीच बन्द रंगशालामा खेल सञ्चालन भएका थिए। तर, कडा स्वास्थ्य सुरक्षामा बसेका टोलीका सदस्यमा नै कोरोना संक्रमणपछि खेल रोकिएको हो। 

प्रकाशित: २२ वैशाख २०७८ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App