४ वैशाख २०८१ मंगलबार
खेल

कोरोनाले थलियो खेलकुद पूर्वाधारको काम

पोखरा रंगशालास्थित फुटबल मैदान। तस्बिर: नागरिक

कोरोना भाइरस संक्रमणले पोखरा रंगशालास्थित फुटबल मैदान तथा प्यारापिट निर्माण कार्य एकवर्षदेखि थलिएको छ। काम फत्ते भएर राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिनुपर्ने समयमा एकवर्षदेखि कामको प्रगति हुनै सकेको छैन् । पछिल्लो समय कोरोनाको महामारी बढ्दै गएपछि भारतबाट आउनुपर्ने प्राविधिकहरु आउन सकेका छैनन् । यसअघि पनि विभिन्न समयमा भारतमा भएको लकडाउनकै कारण प्राविधिकहरु पोखरा आउन नसक्दा काम अघि बढ्न सकेन् ।  

कोरोनाकालमै भौतिक पूर्वाधार निर्माणको प्रगति बढीमा ३/४ प्रतिशत मात्रै भएको ठेकेदार कम्पनीले जनाएको छ । फुटबल मैदान र प्यारापिट निर्माणको समग्र प्रगति भने ९० प्रतिशत रहेको कम्पनीको दावी छ। रंगशालाभित्र फुटबल मैदानसहित प्यारापिट एवं सिन्थेटिक ट्रयाक बनाउन पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले २०७५ फागुन २६ गते शिलान्यास गरेका थिए । भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर (जे.भी)ले भौतिक पूर्वाधारको जिम्मा लिएको हो ।  

‘कोरोनाले भारतीय प्राविधिक आउन सकेका छैनन्। त्यसैले गर्दा काम ढिलो हुन पुग्यो,’ कम्पनीका प्रोजेक्टका म्यानेजर दिपक बरालले भने, ‘बीचमा केही प्राविधिक आए, फर्केर गए । फेरि प्राविधिकलाई बोलाइएको छ । उनीहरुको सहयोगमा स्थानीय कामदारले हेल्पिङ ह्याण्डमा काम गर्ने छौं।’ प्यारापिटको छानो छाउन भारतीय प्राविधिक आउनुपर्छ।  

उनका अनुसार कोरोनाकै कारण वर्षदिनको समय लम्बियो । समयमै काम पुरा नहुदाँ निर्माण कार्यलाई परिषदले कम्पनीसँग म्याद थप्दै आएको छ । म्याद हालसम्म छ पटक थपिसकिएको छ। प्रोजेक्ट म्यानेजर बरालका अनुसार सहज परिस्थिति भए ६ महिनाभित्रमा काम सकिने छ। ‘तीन महिनाभित्रमा प्यारापिटको भीआईपी सिटको माथि छानो हाल्ने र बाँकी ३ हजार ५ सय सिट जडान गरिसक्छौ, उनले भने, ‘सिटको लागि सामान तयार छ। ल्याउने मात्रै हो।’ जडान गरिने सिटका सामान फ्रान्सबाट ल्याइने हो। प्यारापिट स्टिल मोडलुर सिष्टममा बनाइएको छ।  

राष्ट्रिय खेलकुद परिषदले समेत समयमै भुक्तानी नदिदाँ कामको रफ्तार अघि बढ्न नसकेको गुनासो कम्पनीको छ । म्यानेजर बरालका अनुसार परिषदमा विल पेश भईसकेको भुक्तानी अझै पाउन बाँकी छ । ‘७/८ करोडको विल पेश गरिसकेका छौ,’ उनले भने, ‘भुक्तानी पाईसकिएको छैन् । भुक्तानी नपाउँदा काम ढिला हुदैं गएको छ। विल भुक्तानी लिन समेत म्याद थप गर्नुपर्ने बाध्यता छ।’  

छानो र ३ हजार ५ सय सिट जडान पछि फुटबल मैदान निर्माणको काम सकिने छ। प्यारापिट १६ हजार पाँचसय सिट क्षमताको छ। थप ३ हजार ५ सय सिट जडान गरेपछि क्षमता २० हजार पुग्ने छ। थप सिट जडान गर्न २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कम्पनीले प्यारपिटको पूर्व तर्फ दुईतले भवन समेत बनाउने योजना छ । भवन बनाउने योजनालाई समेत परिषदले स्वीकृत गरिसकेको छैन् । ‘परिषदले भवनको स्वीकृत गरे ६ महिनाभित्रमा काम सक्ने छौं।’ उनले भने, ‘यस्तै कोरोनाको असर लम्बिदै गए काम पनि लम्बिदैं जान्छ।’  

फुटबल मैदान, ट्रयाक तथा प्यारापिट निर्माणको लागि कम्पनीसँग परिषदले १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरेको हो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरामा आयोजना गर्ने तयारी हुदाँ भौतिक पूर्वाधार निर्माण अनिवार्य छ। ‘भौतिक पूर्वाधारको काम नरोक्न बजेट मागिसकेका छौं।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘स्वयं प्रधानमन्त्रीले समेत निर्माणाधिन पोखरा रंगशालाको भौतिक पूर्वाधारको अवलोकन गरेर फर्किनुभएको छ । आशा छ बजेटकै अभावमा काम नरोकिएला।’ उनले पोखरा रंगशालाभित्रै निर्माण गरिने स्वीमिङ पुल र सुटिङ रेन्जको लागि समेत परिषदसँग बजेट माग गरिएको जिकिर गरे। 

प्रकाशित: २१ वैशाख २०७८ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App