४ वैशाख २०८१ मंगलबार
खेल

नेपाल सुपर लिग: ‘दबाबमा परेर रेफ्रीको निर्णय’

शनिबार बुटबल–लुम्बिनी एफसीसँग २–२ को बराबरीमा रोकिएपछि विराटनगर सिटी एफसीका प्रशिक्षक यान लले खुलेरै नेपाल सुपर लिग (एनएसएल) का रेफ्रीहरूको विरोध गर्दै व्यावसायिक बन्न नसकेको र यो नेपाली फुटबलकै लागि खराब भएको बताएका थिए।  

‘एनएसएलले नेपाली फुटबललाई थप व्यावसायिक बनाउने लक्ष्यका साथ प्रतियोगिता गराइरहेको छ,’यानले भनेका थिए, ‘तर खेल संचालन गर्ने रेफ्रीहरू नै व्यावसायिक बन्न सकिरहेका छैनन्। म पहिलो खेलदेखि नै रेफ्रीको भूमिकाप्रति सन्तुष्ट छैन।’ उनले नेपाली फुटबलको विकासका लागि व्यावसायिक रेफ्री पनि आवश्यक रहेको औंल्याएका थिए। सोमबार एनएसएलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनको चुनौती २-० ले पन्छ्याउँदै विराटनगर एफसी लिगको शीर्ष स्थानमा उक्लियो। चार खेलबाट विराटनगर समान ७ अंक नै जोडेको धनगढी एफसीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ।  

धनगढी पहिलो खेलमा विराटनगरसँग ३–० ले निराश भएको थियो। ५ अंक जोडेका बुटवल र पोखरा थन्डर्स क्रमशः तेस्रो र चौथो स्थानमा छन्। काठमाडौं रेजर्स चार अंकका साथ पाँचाैं, ललितपुर सिटी एफसी तीन अंकका साथ छैटाैं र दुई अंक जोडेको चितवन सातौं स्थानमा छन्। ७३औं मिनेटमा मान्जीले सुनील बलको पासलाई जाली चुमाउँदै विराटनगरलाई खेलमा अघि बढाएका थिए। निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी हुँदा सन्तोष तामाङले विराटनगरको अग्रता दोब्बर पारे। चार खेलबाट दुई अंक मात्र जोडेको चितवनको यो लगातार दोस्रो हार हो र टोलीको शीर्ष चारमा बस्दै प्लेअफ खेल्ने लक्ष्य पनि कठिन बनेको छ।

खेलपछि चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले विराटनगरका पेड्रो मान्जीले गरेको पहिलो गोल ह्यान्ड हुँदा हुँदै पनि रेफ्रीले त्यसलाई मान्यता दिएको आरोप लगाए। ‘त्यो एक गलत निर्णयले खेलाडीको मनोबल घट्यो। हामीले राम्रो खेल्दा खेल्दै पनि रेफ्रीको एउटा गलत निर्णयले नतिजा सुम्पिन पर्‍यो,’कर्माचार्यले भने, ‘पछिल्लो खेलमा विराटनगरका प्रशिक्षक यान लले रेफ्रीको विरोध गरेका थिए। सायद आज त्यसकै दबाबमा हुनुपर्दछ रेफ्रीले उनीहरूलाई विवादास्पद गोल उपहार दिए। यो हारले शीर्ष चारमा बस्ने हाम्रो यात्रा कठिन बनाएको छ। रेफ्रीले दबाबरहित निर्णय लिनुपर्दछ, जुन आजको खेलमा देखिएन।’

शनिबार रेफ्रीको चर्को आलोचना गरेका यान लले सोमबार भने खुलेर प्रशंसा गरे। चितवनका सहायक प्रशिक्षक कर्माचार्यले आज विराटनगरको प्रशिक्षकको दबाबमा परेर खेल खेलाए भन्ने अरोपमा यान लले भने, ‘मैले रेफ्रीलाई दबाब दिएकै छैन। मैंले शनिबार एनएसएल नेपाली फुटबलको व्यावसायिकताका लागि लागिपरेको र रेफ्री पनि व्यावसायिक हुनु पर्ने मात्र भनेको हुँ। कसैमाथि दबाब दिएको हैन। रेफ्रीहरूले सही निर्णय लिइरहेका छन्।’ 

प्रकाशित: २१ वैशाख २०७८ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App