८ वैशाख २०८१ शनिबार
खेल

उदयपुरको लिमचुङबुङमा खेलकुद सप्ताह

उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा साताव्यापी खेलकुद प्रतियोगिता ०७८ सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा गाउँ खेलकुद विकास समितिले गत ११ गतेदेखि सुरु गरेको खेलकुद प्रतियोगिता बुधबार सकिएको हो ।  

गाउँपालिकाका ५ वटै वडाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा भलिबल, फुटबल, व्याडमिन्टन र ट्रेल रेस (दौड)मा स्पर्धा गराइएको थियो । भलिबल र दौडमा महिला–पुरुष दुवैको सहभागिता थियो भने फुटबल र व्याडमिन्टनमा पुरुषबीच स्पर्धा गराइएको आयोजक खेलकुद विकास समिति लिमचुङबुङले जनाएको छ ।  

प्रतियोगितामा महिला भलिबलतर्फ वडा नं. ५ जाँते प्रथम भएको छ भने ४ नं. बलम्ता दोस्रो र २ ताम्लीछा तेस्रो भएको छ । त्यस्तै पुरुषतर्फ वडा नं. २ ताम्लीछा प्रथम हुँदा बलम्ता दोस्रो र वडा नं. १ बाँसबोटे (बी) तेस्रो भएको आयोजकले जनाएको छ । भलिबलमा महिलातर्फ ५ र पुरुषतर्फ १० समूहको सहभागिता रहेको थियो । दुवैतर्फका विजेता समूहलाई २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरियो ।

आयोजक समितिका अध्यक्ष मनोज बुढाथोकीका अनुसार फुटबलतर्फ वडा न. २ प्रथम भएर १० हजार नगद, ट्रफि र प्रमाणपत्रको हकदार भएको छ । १० वटै टिम सहभागी रहेको फुटबलमा दोस्रो र तेस्रो स्थान क्रमशः १ का. बाँसबोटेका २ समूहले ओगट्दै क्रशः ५ हजार र २ हजार नगदका साथ मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

व्याडमिन्टनमा वडा नं. ३ बाराहा प्रथम भएको छ भने वडा नं. २ ताम्लीछा दोस्रो र वडा नं. १ बाँसबोटे तेस्रो भएको छ । ९ टिमको सहभागिता रहेको व्याडमिन्टनमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ८ हजार, ५ हजार र २ हजार नगदका साथ मेडल र प्रमाणपत्र प्रदान गरियो ।  

प्रतियोगिताको अर्को आकर्षण १५ सय मिटर दौड ‘लिमचुङुङ ट्रेल रेस’ प्रतियोगिता थियो । त्समा पुरुषतर्फ १ घण्टा २९ मिनटमा गन्तव्य चुम्दै ताम्लीछाका रिजन राई प्रथम भए । उनले १० हजार नगद, ट्रफि र प्रमाणपत्र पाए भने दोस्रो स्थान पाउने वडा नं. ३ बाराहाका अर्जुन खत्रीले ८ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाए । उनी १ घण्टा ३३ मिनटमा दूरी पार गर्न सफल भएका थिए भने वडा नं. ४ बलम्ताका तुफान राईले ५ हजार नगद, ट्रफि र प्रमाणपत्रसहितको तेस्रो पुरस्कार पाउन १ घण्टा ३६ मिनट लगाए ।

महिलातर्फ वडा नं. ४ बलम्ताकी मनिषा राई २ घण्टा १ मिनटमा दूरी पार गर्दै प्रथम भएर १० हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाईन् । बलम्ताकै केशुका राई २ घण्छा ९ मिनटमा गन्तव्य छिचोल्दै ८ हजार नगदसहित पुरस्कृत हुँदा वडा नं. ५ जाँतेकी रमिला राईले २ घण्टा ११ मिनट लगाएर ५ हजार नगदसहितको तेस्रो पुरस्कार हात पारिन् । गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईका अनुसार दौड प्रतियोगितामा ८६ महिला पुरुष प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।  

बुधबार साँझ गाउँपालिका परिसर बाराहामा आयोजित समापन समारोहमा अध्यक्ष मेजरकुमार राईले प्रथम हुने खेलाडी समूहलाई नगद र ट्रफि बितरण गरे । दोस्रो र तेस्रो स्थान लिने खेलाडी समूहलाई उपाध्यक्ष रमिला राई र लेखाअधिकृत ताराकिरण राईले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित: १६ वैशाख २०७८ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App