७ वैशाख २०८१ शुक्रबार
खेल

मुम्बईमै अड्किए जाम्पा र रिचर्डसन

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) छाडेका अस्ट्रेलियन क्रिकेटर एडम जाम्पा र केन रिचर्डसन मुम्बईमा फसेका छन्। अस्ट्रेलियाले मंगलबार भारतबाट आउने विमानलाई आगामी मे १५ सम्मका लागि प्रतिबन्ध लगाएपछि यस सिजनको आइपिएल छाडेका दुई अस्ट्रेलियन क्रिकेटर मुम्बईमै रोकिएका हुन्।

उनीहरूले रोयल च्यालेन्जर बैङ्लोरको बायो सेक्योर बबल छाडेका थिए। नयाँ भेरियन्ट संक्रमण रोक्ने अस्ट्रेलियन सरकारको रणनीतिअनुरूपमा घर फर्किने तयारीमा रहेका जाम्पा र रिचर्डसन मुम्बईमै फसेका हुन्। उनीहरू मुम्बई एयरपोर्टनजिकको एक होटलमा बसेका छन्। दुवैले गत आइतबार बैङ्लोरको बायो बबल छाडेका थिए र एयरपोर्टनजिकको मुम्बईको होटलमा पुगेका थिए।  

दुवैले व्यक्तिगत कारण देखाउँदै यस सिजनको आइपिएल छाड्ने निर्णय गरेको भनिएता पनि जाम्पाले भने कमजोर बायो बबलमा बस्नुपरेको भन्दै आलोचना गरेको समाचार बाहिरिएका छन्। क्रिकेट अस्ट्रेलिया (सिए) ले पनि उनीहरू घर फर्किने वातावरण सिर्जना गर्न अस्ट्रेलियन सरकारसँग छलफल गरिरहेको छ। यद्यपि, सरकारले मे १५ सम्म लागि बाहिरबाट आउने प्रतिबन्ध गरेपछि उनीहरू त्यस समयसम्म भारतमै बिताउनुपर्ने अवस्था पनि आउन सक्नेछ। भारतमा कोभिड–१९ को संक्रमण उच्च बिन्दु पुग्दा स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको छ भने स्वास्थ्य सामग्री पनि अभाव देखिन थालेका छन्। 

जसको विदेशी खेलाडीहरू पनि चिन्तित देखिएका हुन्। यद्यपि, हालसम्म आइपिएलमा सहभागी आठ टोलीका खेलाडी र स्टाफमा कुनै किसिमका संक्रमण देखिएका छैनन्। तर, भारतकै रविचन्द्रन अश्विन, इङ्ल्यान्डका लियाम लिभिङस्टोन र दुई अस्ट्रेलियनले आइपिएल छाड्ने निर्णय गरेका थिए।

तर जाम्पा र रिचर्डसन भने घर फर्कन पाएनन्। क्रिकेट अस्ट्रेलियाका प्रवक्ताले पनि म १५ अगाडि नै खेलाडीहरू देश फर्किने वातावरण सिर्जना गर्न सरकारसँग कुराकारी भइरहेको बताएका छन्। यद्यपि, उनीहरू मुम्बईबाट दोहा जाने र दोहाबाट नै घर फर्किने सम्भावना पनि रहेको सञ्चारमाध्यमले जनाइको छ। तर, अस्ट्रेलिया सरकारले भारतबाटै आएका नागरिकमाथि प्रतिबन्ध लगाउन सक्ने पनि बताइएको छ।

‘हामी कसरी हुन्छ खेलाडी फर्काउने प्रयासमा सरकारसँग छलफल गरिरहेका छौं। यद्यपि, सरकारले अनुमति दिएमा त्यो माध्यमबाट भए पनि उनीहरूलाई फर्काउनेछौं। त्यो प्रक्रिया पनि सम्भव भएन भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग छलफल गरेर उनीहरूको सुरक्षित स्थान प्रबन्ध गर्नेछौं,’ सिएका प्रवक्ताले भने। 

प्रकाशित: १६ वैशाख २०७८ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App