७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल सुपर लिग: नवयुगले दिलाए सफलता

कप्तान नवयुग श्रेष्ठको निर्णायक गोलप्रेरित पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दोस्रो खेलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १–० ले हराएको हो। ८३औं मिनेटमा नवयुगले फ्रिककलाई हेडरमार्फत जाली चुमाएका थिए।

यसअघि पहिलो खेलमा पोखरा बुटवल–लुम्बिनी एफसीसँग २–० ले निराश भएको थियो। यता विराटनगरले भने पहिलो खेलमा प्रतियोगिताकै बलियो टोलीको रूपमा हेरिएको धनगढी एफसीमाथि ३–० को प्रभावशाली जित हात पारेको थियो। ‘पहिलो खेलमा बुटवल–लुम्बिनीसँग पराजित भएका कारण आज हामी विराटनगरमाथि जित्नै पर्ने दबाबमा थियौं,’ पोखराका सहायक प्रशिक्षक राजेश शाहीले भने, ‘हामीले लिएको रणनीति सफल भयो। दोस्रो चरणको समाप्तिमा सातवटै टोलीबीच धेरै अंक दूरी छैन, त्यसैले आजको जितले हामी अझै प्रतिस्पर्धामै छौ भन्ने प्रमाणित गरेको छ।’

यता विराटनगरका प्रशिक्षक यान ल ले भने पहिलो खेलमा जस्तै पोखराविरुद्धको खेलमा पनि टोली उच्च मनोबलका साथ मैदान प्रवेश गरे पनि विपक्षी रक्षकले स्ट्राइकर पेड्रो मान्जीलाई चल्न नदिएका कारण पाएको अवसरको सदुपयोग गर्न नसकेको बताए। दोस्रो चरणको समाप्तिमा बुटवल–लुम्बिनी ४ अंकका साथ शीर्ष स्थानमा छ भने विराटनगर, धनगढी, काठमाडाैं रेजर्स र पोखरा समान ३ अंकका साथ क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाैं स्थानमा छन्। यता २ अंकका साथ एफसी चितवन छैटौं स्थानमा छ भने दुई खेलमा मात्र १ अंक जोडेको ललितपुर सिटी एफसी साताैं स्थानमा छ।

बुधबारै भएको दिनको पहिलो खेलमा बुटवल–लुम्बिनीले २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमनका साथ एफसी चितवनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो। प्रतियोगितामा चितवनको यो लगातार दोस्रो बराबरी हो। यसअघि चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ को बराबरी खेलेको थियो। १५औं मिनेटमा गोरान जेकोभिचको पासलाई स्ट्राइकर जर्ज प्रिन्स कार्कीले पोस्टको दिशा दिँदा एफसी चितवनले अग्रता लिएको थियो। त्यसको ४ मिनेटपछि नै टेकबहादुर बुढाथोकीले गोल गर्दै चितवनको अग्रता दोब्बर पारेका थिए। ३२औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवल–लुम्बिनीलाई खेलमा फर्काउने संकेत गरेका थिए। ६५औं मिनेटमा चितवनका गोलकिपर विशाल सुनारले राम्रोसँग क्लियर गर्न नसकेको बललाई जाली चुमाउँदै लक्ष्मण रुचालले बुटवल–लुम्बिनीलाई खेलमा फर्काएका थिए।

‘ललितपुर सिटी एफसीविरुद्ध हामीले अंक खोसेका थियौं, आज बुटवल–लुम्बिनीले हामीविरुद्ध अंक खोस्यो। फुटबलको मज्जा नै यही हो,’ चितवनका प्रशिक्षक मेघराज केसीले भने, ‘अर्को खेलमा कप्तान भरत खवाससहित दुई विदेशी खेलाडी चोटमुक्त हुँदै टोलीमा फर्कंदै छन्। उनीहरूको आगमनले टोलीले पक्कै पनि सुखद नतिजा ल्याउँछ।’ यता बुटवल–लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले टोलीले २–० ले पछि परे पनि स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिँदा अंक खोस्न सफल भएको बताए।

प्रकाशित: १६ वैशाख २०७८ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App