६ वैशाख २०८१ बिहीबार
खेल

‘क्रिकेटरका लागि चार्टर उडान हुँदैन’

अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले इन्डियन प्रिमियर लिगको यस संस्करण सकिएपछि आफ्ना देशका क्रिकेटरकालागि चार्टर उडानको व्यवस्था गरिदिन आग्रह गरेका छन्। भारतबाट क्यानवेरा आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले त्यहाँबाट देश प्रवेशमा रोक लगाएसँगै आइपिएल खेलिरहेका अस्ट्रेलियन क्रिकेटर लिनले मंगलबार चार्टर उडानको व्यवस्था गरिदिन आग्रह गरेका हुन्।

पछिल्लो हप्ता भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा मृत्युदर पनि बढ्न थालेको छ। त्यससँगै तीन अस्ट्रेलियन क्रिकेटर पनि विश्वकै महँगो ट्वान्टी–२० फ्रेन्चाइच लिग छाडेर घर फर्किसकेका छन्। आगामी मेको अन्तमा सकिने आइपिएल बन्द रंगशालाबीच हुँदै छ। ६ सहर मात्र खेलाइएको आइपिएलमा सहभागी खेलाडीलाई कडा स्वास्थ्य सुरक्षामा राखिएता पनि भारत र अस्ट्रेलियन क्रिकेटरले यस सिजन त्यागेका थिए।  

क्रिकेटर अस्ट्रेलिया (सिए) ले आफ्ना खेलाडीलाई सम्पर्क गर्दै उनीहरूको स्वास्थ्य अवस्था र घर फर्किने योजनाबारे जानकारी लिने क्रममा मुम्बई इन्डियन्सका लिनले चार्टर उडानको माग गरेका हुन्। ‘आइपिएलमा सहभागिताबापत सिएले सम्झौताबाट १० प्रतिशत लिने गर्दछ, त्यो रकम यस पटक प्रयोग गर्ने राम्रो अवसर छ भन्दै मैले जबाफ पठाएको थिएँ। आइपिएल सकिएपछि त्यो रकमबाट सिएले चार्टर उडानको व्यवस्था गर्न सक्छ कि भन्ने माग गरें,’ लिनले भनेका छन्। 

अस्ट्रेलियाले कम्तीमा मे १५ सम्म भारतबाट आउने उडानमाथि प्रतिबन्ध लगाएसँगै लिनको उक्त प्रस्ताव आएको हो। यद्यपि, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले क्रिकेटरका लागि कुनै किसिमको विशेष व्यवस्था नहुने स्पष्ट पारिसकेका छन्। ‘क्रिकेटरलाई त्यस किसिमको चार्टर व्यवस्था गर्न उनीहरू देशका लागि टुरमा गएका होइनन्,’ प्रधानमन्त्री मोरिसनले भने, ‘उनीहरू आफ्नै व्यवस्थापनमा देश फर्किनेछन् भन्नेमा विश्वस्त छु ।’ अस्ट्रेलियाका डेविड वार्नर र न्युजिल्यान्डका केन विलियम्सनले नीलो रंगको पिपिईसहितको तस्बिर सार्वजनिक गर्दै भारतको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए।

प्रकाशित: १५ वैशाख २०७८ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App