६ वैशाख २०८१ बिहीबार
खेल

सुपर लिग क्लबलाई फिफा अध्यक्षको चेतावनी

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार युरोपियन सुपर लिगमा सहभागी हुने क्लबले गम्भीर नतिजाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। 

आइतबार युरोपका शीर्ष १२ टोलीले अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) आयोजना गर्ने घोषणा गरेका थिए ।  सो घोषणाप्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका थिए। 

सुपर लिगको घोषणासँगै युइएफएले आयोजना गर्दै आएको च्याम्पियन्स लिगको भविष्य नै के हुने भन्नेमा अन्योल बढेको छ।  म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र टोटेनह्याम गरी इङ्लिस प्रिमियर लिगका ६ क्लब, रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड गरी स्पेनिस ला लिगाका तीन र युभेन्ट्स, इन्टर मिलान र एसी मिलान गरी इटालियन सिरी ‘ए’ का तीन गरी कुल १२ टोलीले सुपर लिगको घोषणा गर्दै च्याम्पियन्स लिगबाट अलग्गिने घोषणा गरेका थिए।  यी १२ टोली प्रतियोगिताका संस्थापक हुनेछन्। 

प्रतियोगितामा २० क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ।  जहाँ संस्थापकमध्येका १५ क्लबले प्रत्येक वर्ष प्रतियोगितमा सहभागिता जनाउनेछन् भने पाँच टोली छनोट पार गर्दै आउनेछन्।  घरेलु लिगमा असर नपर्ने गरी सुपर लिगका खेल मध्यसाता हुनेछन्।  प्रतियोगितामा फ्रान्स महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।  बायर्न गत सिजन च्याम्पियन्स लिगको विजेता हो भने पिएसजी उपविजेता हो। 

यद्यपि, सुपर लिगका संस्थापक १२ क्लबका स्रोतले भने प्रतियोगितामा कम्तीमा दुई फ्रान्सेली क्लब सहभागी हुने भए पनि अहिले नै सहभागी क्लबको नाम भने खुलाउन नचाहेको बताएको छ।  युइएफएले सोमबार सन् २०२४ बाट च्याम्पियन्स लिगको संरचना परिवर्तन गर्दै सहभागी टोलीको संख्या ३२ बाट बढाएर ३६ पुर्‍याउने निर्णय गरेको छ । 

इन्फान्टिनोले सुपर लिगको घोषणाले युरोपको क्लब फुटबल संरचना नै धराशयी हुने भन्दै सो कदमप्रति आपत्ति जनाएका हुन् ।  यसअघि युइएफएका साथै स्पेनिस फुटबल संघ, फुटबल संघ (एफए) र इटालियन फुटबल संघले संयुक्त विज्ञप्ति जारी गर्दै सुपर लिग आयोजनाको घोषणाप्रति आपत्ति जनाएका थिए ।  युइएफएले पनि सुपर लिगमा प्रतिस्पर्धा गर्ने क्लबले घरेलु, युरोपियन र विश्वका अन्य कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन नपाउनुका साथै प्रतियोगिता खेल्ने खेलाडीहरूमाथि भने अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने जनाएको थियो।

‘हामी युरोपमा हाल संचालनमा रहेको क्लब फुटबल संरचना जोगाउन चाहन्छौं,’ इन्फान्टिनोले भने, ‘कसैले आफुखुसी भिन्न फुटबल संरचना सुरु गर्न चाहान्छ भने त्यसको गम्भीर नतिजा भोग्न ती क्लबसमेत तयार हुनुपर्छ,’ इन्फान्टिनोले भने, ‘कसैले हाल जारी संरचना त्याग्दै अर्को विकल्प रोज्छ भने उनीहरूले त्यसको नकारात्मक असरको पनि जिम्मा लिनुपर्दछ । ’

हाल इङल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मन लिगका शीर्ष ४ टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउँछन्।  तर युरोपियन सुपर लिगका संस्थापक क्लबले प्रत्येक वर्ष स्वतः प्रतियोगितामा स्थान बनाउनेछन् ।   उनीहरूले आफ्नो घरेलु लिगमा हाँसिल गरेको स्थानले उनीहरूको युरोपियन सुपर लिगको सहभागितामा कुनै असर गर्ने छैन। 

युइएफएका अध्यक्ष एलेक्जेन्डर सिफ्रिनीले पनि सोमबार सुपर लिगको घोषणाप्रति आपत्ति जनाउँदै क्लबहरूले संकुचित सोचले युरोपको फुटबल नै धराशयी हुने खतरा बढेको बताएका थिए। सिफ्रिनीले प्रिमियर लिगका क्लबलाई युइएफए च्याम्पियन्स लिग त्याग्दै युरोपियन सुपर लिगमा सहभागिता जनाउने योजनाबाट पछि हट्न आग्रह गरेका थिए। ‘अझै पनि योजनाबाट पछि हट्ने समय छ, सबैले गल्ती गर्छन् र त्यसलाई सच्याउँदै अघि बढ्नु नै महानता हो,’ सिफ्रिनीले भने, ‘युरोपका सबै समर्थक क्लबहरू यो कदमबाट पछि हटेको हेर्न चाहन्छन्र उनीहरू सम्मान चाहन्छन्। ’

सुपर लिगले अघि सारेको योजनाअनुसार सहभागी २० क्लबलाई दुई समूहमा विभाजन गरिनेछर जहाँ दुई समूहमा समान १० टोलीको सहभागिता रहनेछर होम एन्ड अवे पद्धतिमा हुने प्रतियोगिताको समूहचरणमा सहभागी सबै क्लबले १८ खेल खेल्नेछन्।  दुवै समूहका शीर्ष तीन टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्। दुवै समूहका चौथो र पाँचौ  टोलीले क्वार्टरफाइनल प्रवेशका लागि बाँकी रहेको दुई स्थानका लागि प्लेअफ खेल्नेछन्। च्याम्पियन्स लिगजस्तै सुपर लिग सेमिफाइनल पनि दुई लेगकै हुनेछ।  

यता फिफा र युइएफएले सुपर लिगमा सहभागी खेलाडीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने चेतावनी दिइरहँदा सुपर लिगका अध्यक्ष समेत रहेको रियाल मड्रिडका अध्यक्ष फियोरेन्टिनो पिरेजले भने खेलाडीमाथि फिफा र युइएफएले प्रतिबन्ध लगाएमा आफूहरू कानुनी लडाइँ लड्ने बताएका छन्।  साथै उनले सुपर लिगमा सहभागी चेल्सी, म्यानचेस्टर सिटी र रियाल मड्रिड यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरिसकेकाले क्लबहरूमाथि प्रतिबन्ध लगाइए त्यसको समेत प्रतिवाद गरिने बताएका छन्। 

‘न रियाल मड्रिड, न सिटी न त चेल्सी नै कुनै पनि क्लबलाई यस सिजन युइएफएले च्याम्पियन्स लिगबाट हटाउन सक्दैनर साथै खेलाडीहरूले निर्वाध रूपमा आफ्नो राष्ट्रको प्रतिनिधित्वसमेत गर्न पाउनेछन्,’ पिरेजले भने, ‘फुटबलको संरचना समयसँगै परिवर्तन हुँदै आएको छर युरोपियन फुटबलको परम्परागत शैलीबाट समर्थकसमेत सन्तुष्ट छैनन्। हामी समर्थकको खुसी चाहन्छौं। ’

यता लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले भने सुपर लिगको योजनाप्रति आपत्ति जनाएका छन्। ‘यो मेरो व्यत्तिगत विचार होर मलाई सुपर लिगको योजना मन परेको छैन र आशा गरौं यो प्रतियोगिता नै नहोस्,’ मिल्नरले भने। 

प्रकाशित: ८ वैशाख २०७८ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App