५ वैशाख २०८१ बुधबार
खेल

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिरुमनपाले उचाल्यो

खोटाङमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ। सोमबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र ९ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान ओगटेको हो। दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ।  

यस्तै, ४ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए। प्रतियोगिताका विजेता टिमलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीले शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन्।  

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाटै प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गरिएको छ। केही समयपछि हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट ४ जना अफिसियलसहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ। प्रतियोगिता बैशाख ४ गते उद्घाटन गरिएको थियो।  

पाँच स्थानीय तहको सहभागिता शून्य  

खोटाङका १० स्थानीय तहमध्ये राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका खेलाडीको मात्र सहभागिता रहेको थियो। प्रतियोगितामा केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकाको सहभागिता नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

खोटेहाङ गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको भएपनि जिल्ला स्तरीय प्रतिष्पर्धामा खेलाडी पठाएनन्। यस्तै, साकेला गाउँपालिकाले पनि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गरे तर जिल्ला छनौट प्रतियोगितामा खेलाडी सहभागी गराउन नसकेको बताइएको छ। साकेलामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा दौड प्रतियोगिताका सहभागीमाथि हातपात भएपछि खेल बिवादित बनेको थियो।

प्रकाशित: ६ वैशाख २०७८ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App