coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफलाई विराट गोल्डकपको उपाधि

पाहुना टोलीलाई पन्छाउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले विराट गोल्डकपको उपाधि पहिलो पटक जितेको छ ।

एपिएफले शनिबार राति विराटनगरको सहिद रंगशालामा सम्पन्न भएको खेलमा भारतको पंजाब पुलिस क्लबलाई १–० मा पराजित गर्दै विराट गोल्डकपको छैठौं संस्करणको उपाधि हात पारेको हो । दोस्रो पटक गोल्डकपको फाइनलमा पुगेको एपिएफले ०७० सालमा संकटा क्लबसँग १–० गोलमा पराजित भएको थियो । पंजाब पुलिस क्लब पहिलो पटक गोल्डकपमा सहभागिता जनाउँदै फाइनलसम्म पुगेको हो ।  

विभागीय टोली नेपाल प्रहरीलाई २–०  र घरेलु टोली विराटनगर महानगरपालिका ११ लाई ३–२ गोल हराउँदै एपिएफले फाइनल पुगेको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता मछिन्द्रलाई २–०, गोरखा ब्वाइज क्लब रुपन्देही ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व बिजेता टोली संकटा क्बललाई १–० हराउँदै पंजाव फाइनलमा पुगेको हो । महिना दिन अगाडि सम्पन्न चौथो गोलबजार गोल्डकप र जनकपुर गोल्डकपको उपाधि एपिएफले जितेको छ ।  

पहिलो पटक भेट भएका दुवै प्रहरी टोली खेलको सुरुआतबाटै मैदानमा आक्रमक बनेका थिए । पंजाब पुलिसको रक्षात्मक पक्षको कमजोरी भेटाएको एपिएफले गोलका अवसर सिर्जना गरे पनि गोल संख्या बढाउन सकेन । पंजाबका कप्तान तथा डिफेन्डर जगदीप सिंह सेमिफाइनल खेल सकिएपछि पाएका रातो कार्डका कारण र अर्को राम्रा खेलाडी सर्वजीत सिंह चोटग्रस्त भई मैदान बाहिर रहनु नै हारको घातक हुन पुग्यो ।

एपिएफका प्रदीप लामाले गोल गर्दै खेलको नायक बने । लामाको गोल नै निर्णायक बन्यो र एपिएफले उपाधि जित्दै नगद १५ लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । पंजाबले उपविजेतामा चित्त बुझाउँदै नगद ७ लाख ५१ हजार रुपैयाँ पायो ।  

एपिएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । बिकु तामाङले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको चौथों मिनेटमा एपिएफका कप्तान सुदीप सिख्राकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरँदा थप गोल गर्ने अवसर खेर गयो । ११ औं मिनेटमा प्रदीप लामाले उत्कृष्ट गोल गरे । 

राजन गुरुङले उपलब्ध गराएको क्रसपासलाई सदुपयोग गर्ने क्रममा लामाले पंजाबका डिफेन्डर सर्बजीत र जतिन्दर सिंहलाई छल्दै आकर्षक गोल गरे । एपिएफका लागि खेलको ३८ औँ मिनेटमा आशिष लामाले ३० यार्डबाट गरेको प्रहार पंजाबका गोलरक्षक सतबीर सिंहले पन्चले गोलपोष्टको बारमाथिबाट फाले । ५१ औं मिनेटमा पंजाबका राजवीर सिंहले गरेको प्रहार बाहिरिँदा खेल बारबारीमा ल्याउनबाट चुक्यो । ७० औं मिनेटमा परमजीत सिंहको वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोष्ट माथिबाट बाहिरियो ।

म्यान अफ द म्याच एपिएफका प्रदीप लामाले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी एपिएफका आशिष लामाले मोटरसाइकल पुरस्कार पाए । एपिएफका राजु नगरकोटी सर्वाेत्कृष्ट गोलरक्षक, सनिश श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मणि लामा उत्कृष्ट मिडफिल्डर र सुदीप श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए । विराटनगर महानगरपालिकाका प्रकाश बुढाथोकी सर्वाधिक गोलकर्ता बने भने उत्कृष्ट फरवार्ड संकटा क्लबका फोडे फोफना भए । सबै खेलाडी जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अनुशासित टोलीको पुरस्कार घरेलु टोली विराटनगरले पाएको छ ।  

विजेता तथा उपविजेता टोली र खेलाडीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, आयोजक समितिका संयोजक मनोजविक्रम शाहलगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित: ५ वैशाख २०७८ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App