१६ चैत्र २०८० शुक्रबार
खेल

उदयपुरमा राष्ट्रपति खेलकुद सुरु

२ सय ९४ पदकका लागि अढाई सय खेलाडीको स्पर्धा

प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागी अतिथि तथा खेलाडी । तस्बिरः महेश्वर

यसवर्षको राष्ट्रपति खेलकुद प्रतियोगिता उदयपुर सदरमुकाममा शुक्रबारदेखि सुरु भएको छ । वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिताको यो १२ औं संस्करण हो । ‘जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७८’ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।  

गाईघाट बोक्सेस्थित कभर्डहलमा आयोजित एक कार्यक्रममा प्रदेश सांसदहरू अम्बिका थापा, सुनिता चौधरी तथा सञ्जा दनुवार, जिल्ला समन्वय समिति प्रमुख खड्ग परियार र अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईलगायत अतिथिहरुले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सांसद थापाले खेलकुद क्षेत्र मानव जीवनमा नभई नहुने विधा भएकाले यसको विकास र जगेर्नामा सबैको ध्यान जानुपर्ने बताईन् ।  

कार्यक्रममा जिल्ला समन्वय प्रमुख परियारले मानव सभ्यतामा खेलकुदको अत्यत्न महत्व रहेको बताउँदै स्थानीयतह, प्रदेश र संघीय सरकार तीनैतहले आवश्यक बजेट छुट्याएर खेलकुदका गतिबिधि नियमित गर्नुपर्ने आवश्यक रहेको बताए । एन्फा प्रवक्ता राईले युवा पुस्तालाई राष्ट्रियता, अनुशासन र विकासको बाटोमा अग्रसर गराउनका लागि खेलकुदलाई अनिवार्य सर्त मानेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले संघीय सरकार, ७ वठै प्रदेश तथा ७७ जिल्ला र ७ सय ५३ वटै स्थानीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिक्ता दिँदै बजेट छुट्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा बिभिन्न आधादर्जन प्रकारका खेलमा खेलागीले प्रतिस्पर्धा गर्ने आयोजक खेलकुद विकास समितिका प्रमुख प्रकाशराम राईले बताए । प्रमुख राईका अनुसार प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा गराइने छ । सबै खेलमा महिला पुरुष दुवैतर्फ स्पर्धा हुनेछ ।  

प्रतियोगिता कराते, तेक्वान्दो, उसु र कबड्डीको प्रतिस्पर्धा कभर्डहलमै सञ्चालन हुनेछ भने एथ्लेटिक्स र भलिबलको प्रतिस्पर्धा त्रियुगा नगरपालिका १३ स्थित थरुहट–उदयपुर रंगशालामा सञ्चालन गरिनेछ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्सतर्फ ९२ स्वर्ण, ९२ रजत र ९२ काश्य गरी २ सय ७२ पदकका लागि खेलाडीले स्पर्धा गर्नेछन् । कराते, तेक्वान्दो र उसुतर्फ बिजेतालाई २४ स्वर्ण, २४ रजत र २४ काश्य पदक वितरण गरिने छ ।  

भलिबलतर्फ पुरुष महिला दुवैमा गरी २७ स्वर्ण, २७ रजत र २७ काश्य पदकका लागि स्पर्धा गराइने कार्यालय प्रमुख राईले बताए । ६ वटै खेलमा जम्मा २ सय ९४ पदक वितरण हुने प्रतियोगिताको समापन जिल्ला खेलकुककै कभर्डहलमा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।  

रनिङ सिल्ड प्रतियोगितामा नगरपालिकातर्फ ४ र गाउँपालिकातर्फ ४ गरी ८ वटै स्थनीयतहका खेलागीको सहभागिता रहने छ । सदरमुकामको त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा लिमचुङुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकाले आन्तरिक खेलाडी छनौट गरेर सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

प्रकाशित: ३ वैशाख २०७८ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App