७ वैशाख २०८१ शुक्रबार
खेल

विराट गोल्डकपः उपाधिका लागि पंजाब पुलिस र सशस्त्र प्रहरी भिड्दै

खेल सकिए दुई जना खेलाडीलाई रातो कार्ड

भारतको पंजाब पुलिस क्लबले विराटनगरमा जारी विराट गोल्डकपको फाइनल यात्रा तय गरेको छ ।बिहीबार राति सम्पन्न खेलमा पंजाबले काठमाडौंको संकटा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । उपाधि जितका लागि शनिबार पंजाबले नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसँग प्रतिस्पार्धा गर्ने छ । 

शनिबार मात्रै पोखराको आहा रारा गोल्डकप जितेको संकटाले विराट गोल्डकप पनि आफ्नो पोल्टामा पार्ने सपनालाई पंजाब पुलिसले पूर्ण विराम लगाइदिएको छ । पंजाब पुलिस क्लबले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो । ०७० सालमा संकटाले एपिएफलाई पराजित गरी उपाधि जितेको थियो ।  

खेलको सुरुवातबाटै दुवै टोली आक्रमकरूपमा मैदानमा प्रस्तुत भएका थिए । मध्यान्तरअघिसम्म दुवै टोली गोलरहित खेलेका थिए । पंजाब मध्यान्तरपछि थप आक्रमकरूपमा मैदानमा प्रस्तुत भएको थियो । दुवै टोलीले गोलका केही राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । संकटाले पाएको गोलका धेरै अवसर चुकाउँदा निर्णायक गोल गरेका पंजाबका परमजीत सिंह नायक बने ।  

७६ औं हर्षदीप सिंहले डिबक्स छेउबाट गरेको क्रममा अनमार्क रहेका परमजीत सिंहले डिबक्सभित्रबाट सशक्त प्रहार गर्दै गोल गरे । ७ औं मिनेटमा संकटाका तीर्थ बस्नेतलले एक्लै लगेको बल डिबक्स अगाडिको लाइनबाट गरेको प्रहार बाहिरियो । १५ औं मिनेटमा गणेश हमालले डिबक्स नजिकबाट निकालिदिएको क्रसमा एडो ग्लोरीले सशक्त हेड बललाई पंजाबका गोलरक्षक सतवीर सिंहले राम्रो बचाए । ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे ।  

३५ औं मिनेटमा पंजाबका अमनप्रितले निकालेको लामो क्रसमा राजवीर सिंह गोल गर्न चुके । ६० औं मिनेटमा संकटाका फोफोनाका क्रसमा डिबक्सभित्रबाट ग्लोरी हेड गर्न चुक्दा टोली गोल गर्ने अवसरबाट वञ्चित भयो । ७४ मिनेटमा विवेक राईले प्रहार गरेको कर्नरमा अनमार्क सइद स्मार्टले गरेको सशक्त हेडमा पंजाबका गोलरक्षकले बचाउ गरे ।  

संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएको राम्रो अवसरलाई सुदपयोग गर्न नसक्नु र काउण्टर अट्याकमा गोल आत्मसात गर्नु नै हारको कारण बन्यो । पंजाबका प्रशिक्षक हरनेक सिंहले विराटनगरको दर्शकको साथ र टोलीको खेलबाट सन्तुष्ट रहेको बताए । खेल सकिएपछि भएको घटनाको निर्णय रेफ्रीले चाँडो दिएकोमा आपत्ति रहेको बताए । घटनाको स्वतन्त्र निर्णय नभएको बताएका प्रशिक्षक सिंहले आयोजक समिति समक्ष भिडियो रिप्ले हेर्दै रेफ्रीको निर्णयबारे सोच्नुपर्नेमा जोड दिए ।  

दुई खेलाडीलाई खेल सकिएपछि रातो कार्ड

खेलको निर्धारित समय सकिएको जनकारी रेफ्री श्याम दनुवारले सिटी बजाएर दिएसँगै मैदान केही समय तनावग्रस्त बन्यो । खेल सकिनासाथ मैदानभित्रै संकटाका सइद स्मार्ट र पंजाबका लभप्रित घईबीच हात हालाहाल भई झगडा सुरु भयो । सइदले सुरुमा लभप्रितमाथि हात हालेपछि बढेको तनावलाई कम गराउन अफिसियल र आयोजकलाई केही समय लागेको थियो । सो क्रममा रेफ्री दनुवारसहितको टोलीले घटनामा संलग्न भएको भन्दै पंजाबका कप्तान जगदीप सिंह र संकटाका स्मार्टलाई रातो कार्ड दिए । रातो कार्ड पाएपछि जगदीप फाइनल खेल खेल्न नपाउने भएका छन् ।

प्रकाशित: ३ वैशाख २०७८ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App