coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

संकटालाई आहा रारा गोल्डकपको उपाधि

च्याम्पियन–१९ औं संस्करणको उपाधि विजेता संकटा क्लब उपाधिसहित । तस्बिर : उमेश पुन/नागरिक

अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले छैटौं पटकको सहभागितामा १९ औं आहा रारा गोल्डकपको उपाधि उचालेको छ।  

पहिलो पटक फाईनल पुगेको संकटाले अफ्रिकन रुट्सको चुनौतिलाई पेनाल्टीमा ४–२ गोलले पराजित गर्दै उपाधि चुम्यो। संकटाका गोलकिपर राजाबावु थापाले एम्बाकोपको तेस्रो पेनाल्टी बचाउ गरेपछि संकटाले उपाधि उचाल्यो। शनिबार पोखरा रंगशालामा भएको फाईनल खेल निर्धारित तथा अतिरिक्त समय १–१ गोलको बराबरीमा टुंगिएको थियो। निर्णय पेनाल्टीमा आउँदा अफ्रिकन रुट्सले दोस्रो पटक उपाधि विदेश लैजाने सपना पुरा हुन सकेन।  

चौथो रारा गोल्डकपको उपाधि अफ्रिकन युनाईटेडले उचाल्दै इतिहास बनाएको थियो। त्यसपछि आहा रारा गोल्डकपमा क्यामरुनकै दाउफिन्स पोखरा आईपुगेको थियो। पोखराको मैदानमा यो तेस्रो अफ्रिकन टिम हो। अफ्रिकन रुट्स एशोसियसनले उपाधि उचाल्ने सम्भावना देखाएपनि पेनाल्टी सुटआउटमा कमजोर बन्यो। लगातारको खेलले पनि अफ्रिकन टोली थकित थियो। राजर्षी जनक गोल्डकपको सेमिफाईनल खेल्दै पोखरा आईपुगेको थियो।  

हेटौंडामा पहिलो सहभागिता थियो क्यामरुनी टोलीको। नेपाल आर्मीसँग पराजित भएको थियो। त्यसपछि चौथो बागमती गोल्डकपको फाईनल पुगेको क्यामरुनी टोली रुस्लान थ्रीस्टारसँग फाईनलमा पराजित हुँदै उपाधिविहीन हुन पुग्यो। आहा रारा गोल्डकपकै लागि क्यामरुनबाट पोखरा आएको टोलीले फाईनल यात्रा तय गर्‍यो। तर पेनाल्टीमा चुक्न पुग्दा उपाधिविमुखमै चित्त बुझाउन बाध्य बन्यो।

एम्बाकोपको पेनाल्टी बचाउ भएपछि उत्साहित संकटाको लागि निर्णायाक पेनाल्टी आयुष घालानले हिर्काए। घालानको प्रहार गोल भएपछि संकटाले उपाधि उचाल्यो। संकटाको लागि पहिलो पेनाल्टी अमित तामाङले हिर्काउँदै गोल गरे। कप्तान सरोज दाहालको पेनाल्टी बचाउ भएपछि दबावमा रहेको संकटालाई उद्वार गर्ने काम भने गोलकिपर राजाबावु थापाले गरे। सुवास गुरुङ र निरज बस्नेतको प्रहार पनि गोल भएपछि १० लाख १ हजार नगद राशीको उपाधि पक्का बन्यो। अफ्रिकन रुट्सका लागि पहिलो पेनाल्टी कोईटेले हिर्काउँदा बाहिर फाले। निराश बन्न पुग्यो। के.यानिकले गोल गरे। त्यसपछिको पेनाल्टीमा रिमले गोल हिर्काए। तर चौथो पेनाल्टी बचाउ भएपछि संकटाले जितको खुसी मनाउन पर्याप्त भयो।  

पहिलो पटक आहा राराको उपाधि उचाल्दै फेरि एकपटक उपाधि विदेशिनबाट जोगियो। म्यान अफ दि म्याच राजाबावु थापाको लङ किक बलबाटै फोफोनाको हेडरलाई ग्लोरीले गोल गरेपछि संकटा खेलमा फर्किएको थियो। पहिलो हाफ १–०ले पछि परेको अवस्थालाई उल्ट्याउँदै संकटाले जित निकाल्न पेनाल्टीसम्म कुर्नुपरेको थियो।  

खेलको ११ औं मिनेटमा क्यामरुनी टोलीले गोल गर्दै अग्रता लियो। संकटा क्लबका खेलाडी निरज बस्नेत र सुुरज ठकुरीबीच  समन्वय नहुँदा पहिलो गोल खान पुग्यो। दुई खेलाडीबीच बल क्लियर गर्न समन्वय नहुँदा एन्जिमीले बल खोस्दै मोउसालाई पास दिए। मोउसाले डिबक्सभित्र बासेकलाई पास दिए। बासेकको कडा प्रहारलाई संकटाका गोलरक्षकले बल रोक्ने प्रयास समेत गरेनन्।  

५२ औं मिनेटमा संकटाले गोल गर्दै खेल बराबरीमा ल्यायो। गोलकिपर राजाबावु थापाको लामो किक बललाई फोफोनाको हेडर पासले डिफेन्ण्डर विट भईसकको अवस्थामा ग्लोरीले गोल गरेका थिए। उनको गोलसँगै संकटा खेलमा फर्किएको थियो। खेलको ४९ औं मिनेटमा संकटाको अर्को संकट टर्‍यो। एन्जिमीले हेड पास बासेकलाई दिए। बासेकले दिएको सटपासलाई मोउसाले प्रहार गरे। संकटाका गोलकिपरको खुट्टामा लागेर क्रसबार माथिबाट बाहिरिन पुग्यो। कर्नरको अवसर क्यामरुनी टोलीले पायो।  

८३ औं मिनेटमा मोउसाको क्लोज रेन्जको बललाई बासेकाको प्रहार फष्टबार नजिकैबाट बाहिरिएको थियो। ८७ औं मिनेटमा फ्रिकिकको अवसर क्यामरुनी टोलीलाई फ्रिकिको अवसर मिल्यो। ग्लोरीले क्यामरुनी खेलाडी फउल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्न सकेनन्। रिफ्लेक्ट भएको बललाई मोउसाको प्रहार बाहिर गएपछि संकटा तनावमुक्त रह्यो।  

अतिरिक्त समयको ११२ औं मिनेटमा संकटाले दुई महत्वपूर्ण अवसरलाई गुमायो। संकटाका ग्लोरीले गोलकिपर अगाडि बढेको अवस्थामा गरेको फ्लिक बल सेकेण्डबार नजिकैबाट बाहिरिएको थियो। त्यसभन्दा अघि उनले क्लोज रेन्जबाट हानेको हेडर पनि बाहिरिँदा संकटा मात्रै नभई दर्शक समेत निराश देखिएका थिए। गोलको उत्साहमा उफ्रिएपनि बाहिरिँदा निराश बन्न पुगे।  

उपविजेतामा चित्त बुझाएको अफ्रिकन रुट्स एशोसियसनले नगद ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो। हिमश्री फुड्सको मुख्य प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित गोल्डकपको बेष्ट गोलकिपर राजाबावु थापा, सर्वाधिक गोलकर्ताको पुरस्कार ग्लोरी तथा अफ्रिकन रुट्सका मोउसाले प्राप्त गरे। बेष्ट डिफेण्डरबाट संकटाका निरज बस्नेत, बेष्ट मिडफिल्डरबाट अफ्रिकन रुट्सका रिम, बेष्ट स्ट्राईकरबाट अफ्रिकन रुट्सका बासेक घोषित भए। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको पुरस्कार अफ्रिकन रुट्सका सर्जे बोरिसले प्राप्त गरे। सर्वोत्कृष्ठ खेलाडीको पुरस्कार संकटाका गोलकिपर राजाबावु थापाले प्राप्त गरे। उनले अप्रिला स्कुटर प्राप्त गरे। विजेतालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २८ चैत्र २०७७ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App