भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।
खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १–१ गोलको बराबरी र पछि थप गरिएको ३० मिनेट समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रुपन्देहीले आफूलाई १० मिनेट समाल्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो ।
टाइब्रेकरमा पंजाबका सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरे । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले गोल गरे । आशिष गुरूङको प्रहार गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरे भने अजित गुरूङको प्रहार पोष्टमा लाग्दै बाहिरियो ।
खेलको ८० औं मिनेटमा रुपन्देहीका शक्ति राईले गोल गर्दै अग्रता दिलाए । उनले लुइस भिदलले गरेको फ्रि किक बललाई हेडिङ गर्दै गोल गरे । ९० औं मिनेटमा पंजाबका जितेन्द्र सिंहले गोल गर्दै खेल बराबरी पारे । सरबजीत सिंहले मिलाइ दिएको पास जितेन्द्रले हेडमार्फत गोल गरे । जितेन्द्र अन्तिम समय हरमिन्द्रको स्थानमा मैदान प्रवेश गरे थिए ।
खेलको म्याद अफ द म्याच पंजाब पुलिसका गोलरक्षक सतवीर सिंहले १० हजार रुपैयाँ प्राप्त गरे ।
भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा पनि नजिताका लागि टाइब्रेकरसम्म पर्खनु पर्यो । नयाँ ठाउँ भएकाले पनि तालमेल मिलेन अर्को खेलमा नयाँ रणनीतिका साथ मैदानमा आउने छौं । त्यस्तै रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने धेरै राम्रो अवसर खेर फाल्दा हार भएको हो ।
शनिबार (आज)को खेल विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगालबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम समयमा मनाङ मर्स्याङ्दी नआएपछि
घरेलु टोली विराटनगर महानगरपालिका ११ ले पहिलो खेलमा भारतकै युनाइटेड सिक्किमलाई पराजित गरी क्वाटर फाइनलमा पुगेको थियो । यसअघि, क्वाटर फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग महानगरपालिकाको खेल तालिका रहेको थियो । तर, मनाङले अन्तिम समयमा आफ्नो नाम प्रतियोगिताबाट हटायो ।
प्रतियोगिताको टिम व्यवस्थापन समितिका संयोजक तथा एन्फाका सहमहासचिव वसन्त अर्यालका अनुसार मनाङले अन्तिम समयमा आएर नाम फिर्ता लियो । यसअघि गोल्डकपमा सहभागिता जनाएको मनाङले प्राविधिक कारण देखाउँदै प्रतियोगितामा आउन नसक्ने जनाएको अर्यालले बताए । मनाङको स्थानमा पश्चिम बंगालको युनाईटेड फुटबल क्लब राखेको बताइएको छ ।
प्रकाशित: २८ चैत्र २०७७ ०९:१४ शनिबार