१५ चैत्र २०८० बिहीबार
खेल

विराट गोल्डकपः विराटनगर महानगर र सिक्किमबीच उद्घाटन खेल

प्रतियोगिताको पूर्वसन्ध्यामा विराटनगरमा निकालिएको गोल्डकपसहितको र्‍याली । तस्बिरः चुमन/नागरिक

विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन बिहीबार राति हुँदैछ । दोस्रो पटक विराटनगरमा रात्रीकालीन फुटबल खेल हुन लागेको हो ।

नेपालको ऐतिहासिक फुटबल प्रतियोगितामध्ये विराट गोल्डकप एक हो । बिहीबारदेखि हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । काठमाडौंपछि पहिलो पटक स्थायी संरचना भएको फ्लड लाइटमा विराटनगरको सहिद रंगशालामा प्रतियोगिता आयोजना हुन लागेको हो । यस अघि ०७४ मा अस्थायी संरचना बनाएर रात्रीकालीन फुटबल प्रतियोगिता भएको थियो । त्यस बेला बाँसको खम्बा बनाएर बत्ती जडान गरी प्रतियोगिता आयोजना गर्दा प्रदेश १ सरकारले बत्तीको स्थायी संरचना बनाउने घोषणा गरेको थियो ।  

प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनदेखि लिएर सहभागी टिमलगायतका सम्पूर्ण कार्य पूरा गरिसकेका छौं, प्रतियोगिता आयोजक समितिका संयोजक मनोजविक्रम शाहले भने, ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेका छौं । मैदानमा खेल हुन मात्रै बाँकी छ ।’ कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान दिँदै स्वास्थ्य सम्बन्धी मापदण्डलाई विशेष ध्यान दिएका छौं । खेल हर्न आउने दर्शकलाई मास्क अनिवार्य र सेनिटाइजरको प्रयोग गर्ने छौं, संयोजक शाहले भने, ९ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाका कारण दैनिक ५ हजार जनालाई मात्रै प्रवेश दिइने छ ।’

‘प्रतियोगिता फ्लड लाइटको स्थायी संरचनामा पहिलो पटक आयोजना गर्न पाउँदा धेरै नै खुसी भएका छौं,’ विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले भने, ‘काठमाडौं बाहिर स्थायी संरचनामा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता गर्न लागेका हौं । मोफसलकै नमुना प्रतियोगिताका रूपमा रहेको छ गोल्डकप । नेपालको फुटबल इतिहाससँग यसको महत्व रहेको हुँदा सबै फुटबल प्रेमीले यसलाई माया गर्ने गरेका छन् ।’

गोल्डकप भव्य र सभ्य मात्रै होइन एउटा नमुनाका रूपमा हुन्छ । मोफसलको दोस्रो सर्वाधिक राशि रहेको प्रतियोगितामा खेलाडीको सेवा सुविधालाई विशेष ध्यान दिएको बताउँदै संयोजक शाहले भने, ‘प्रतियोगिता राति हुने भएकाले दर्शकलगायतको सुरक्षामा विशेष ध्यान दिँदै सुरक्षा संयन्त्रसँग समन्वय गरी सुरक्षाको सम्पूर्ण तयारी गरिएको छ । मैदानमा सुरक्षा व्यवस्था कडाइ हुन्छ नै यहाँ आउने दर्शकले पूर्णरूपमा सुरक्षाको प्रत्याभूति हुने गरी सडकमा पनि त्यत्तिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिने छ ।’  

विराट गोल्डकप ट्रष्टले चैत २६ देखि वैशाख ४ गतेसम्म गर्न लागेको प्रतियोगितामा स्वदेशी र विदेशी १० टोलीको सहभागिता रहेको छ । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुमको टोली रहेको आयोजकले जनाएको छ ।  

विराट गोल्डकपको विजेताले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पाउने छन् । म्यान अफ द म्याच १० हजार रुपैयाँ दिइने छ । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र टिममध्ये उतकृष्ट हुनेले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७७ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App