coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फ्लडलाइटको उद्घाटन

काठमाडौंपछि पहिलो पटक मोफसलमा रात्रीकालीन खेलका लागि स्थायी फ्लडलाइटको उद्घाटन गरिएको छ । सोमबार राति प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।  

विराटनगरको सहिद रंगशालामा स्थायी फ्लड लाइट निर्माण गरिएको हो । विराटनगरमा हुने गर्मीबाट यहाँका खेलप्रेमीले राहत पाउने भएको छन् । गर्मीको मौसममा दिउँसो प्रतियोगिता गराउनु पर्ने बाध्यता रहेको थियो । बत्ती नहुँदा यहाँका चर्चित प्रतियोगिता दिउँसो गराउँदा दर्शक र खेलाडी दुवैले गर्मीको सामाना गर्नुपर्‍थो ।    

प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकारले ३ वर्ष अघि फ्लडलाइट बनाउने प्रतिवद्धता व्यक्त गरेको अनुसार काम भएको र खेलकुदलाई उच्च प्राथमिकता राखेको मुख्यमन्त्री शेरधनराईले बताउँदै, ‘सरकारको आलोचना गर्नेलाई सहिद रंगशालामा आउन आग्रह गर्छु । चार लेन सडक, प्रत्येक जिल्लामा रंगशाला, पुललगायतका पूर्वाधार निर्माणको काममा गरिरहेको छौं । कुरा मात्र गरेका छैनौं । वर्तमान सरकारको नेतृत्वमा विकास निर्माणलगायत जनताको जीवनस्तर उकास्न कार्यमा प्रतिवद्ध रही कार्य गरिरहेका छौं ।’

सामाजिक विकासमन्त्री उषाकला राईले लाइट सञ्चालनबाट यस क्षेत्रको खुलकुदको सञ्चालनमा वृद्धि हुनुका साथै राष्ट्रिय एवं अन्र्ताष्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीहरुको क्षमता वृद्धि हुने बताइन् ।

प्रदेश १ सरकारको ५ करोड ४२ लाख रुपैयाँको लगानीमा फ्लड लाइट जडान गरिएको हो । ०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी ४ बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ४ करोड २९ लाखमा ०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि भएको लकडाउनलगायत अन्य प्राविधिक समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको बताइएको छ ।

त्यसैगरी, विराटनगरमा हुन लागेको विराट गोल्डकप पनि रात्रीकालीन हुनेछ । यस अघि अस्थायी संरचना बनाएर रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यस क्रममा प्रदेश १ सरकारले सहिद रंगशालामा स्थायी फ्लड लाइट निर्माण गर्ने घोषाण गरेको थियो ।  

चैत २६ देखि वैशाख ४ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १० क्लबको सहभागिता रहेको छ । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन् । मोफसलमा सर्वाधिक राशि खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित: २४ चैत्र २०७७ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App