coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला क्रिकेट: ललितपुरको सुरुआत हारबाट

कञ्चन श्रेष्ठको आक्रामक ब्याटिङका बावजुद ललितपुर मेयर– ११ ले शनिबारबाट सुरु भएको ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा हारबाट सुरुआत गरेको छ।

कञ्चनको आक्रामक ६३ रनको अर्धशतकीय योगदानका बावजुद ललितपुरले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) को क्रिकेट मैदानमा भएको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग सात विकेटको हार बेहोरेको हो। सुदूरपश्चिमले १ सय ८ रनको लक्ष्य निर्धारित २० ओभर सकिन ६ बल बाँकी छँदा नै तीन विकेटको क्षतिमा पूरा गरेको थियो। सुमन खतिवडाको बलमा छक्का प्रहार गर्दै सुदूरकी कविता जोशीले सहज जित दिलाइन्। कविता १० रनमा र डोली भट्ट २२ रनमा अविजित रहे। डोलीले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै सुदूरको आवश्यक रनलाई कम बनाएकी थिइन्।

त्यसअघि सुदूरपश्चिमका मञ्जु बोकटी र रेवती धामीले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। रेवती १८ रन बनाएर आउट हुँदा सुदूरले ११।४ ओभरमा ५२ रन बनाएको थियो। ४० बल खेल्दै सुस्त ब्याटिङ गरिरहेकी रेवती मेयर–११ की आरती बिडारीद्वारा क्याच भइन्। त्यसपछि ब्याटिङ गर्न आएकी कविता कुँवर ९ रनमै पवेलियन फर्किन्। यद्यपि, एक छेउबाट मञ्जुले समालिएर ब्याटिङ गर्दै सुदूरको इनिङ उकासिन्। मञ्जुले ४१ रनमा रनआउट हुनुअघि ६ चौका हिर्काइन्। ललितपुर मेयर–११ को बलिङमा सुमन र आरती बिडारीले १/१ विकेट लिँदा अन्य बलर भने विकेटविहीन भए।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २।३ ओभरमा मात्र ६ रन जोड्दा ओपनर शोभा आलेलाई १ रनमै गुमाउन पुग्यो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी कञ्चनले समालिएर ब्याटिङ गरे पनि मेयर–११ ले ६.३ ओभरमा अर्का ओपनर अनुराधा चौधरीलाई पनि ४ रनमै गुमायो। त्यसलगत्तै अर्को बलमा विन्दा कटवाल रनआउट हुन पुगेपछि ललितपुर मेयरको टोली दबाब प¥यो। यद्यपि, सुमन खतिवडाले १६ रन र अश्मिना कर्मचार्यले १३ रन बनाउँदै कञ्चनलाई साथ दिइन्। 

कञ्चनले ५६ बलमा ८ चौका प्रहार गर्दै मेयर–११ को इनिङलाई सयको योगफल पार गराइन्। सुदूरपश्चिमकी कविता कुँवर, रितु कनौजिया र सम्झना खड्काले समान १/१ विकेट लिए।  शनिबारकै पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश–१ लाई ८ विकेटले हराउँदै गत प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा बेहोरेको हारको बदला लिएको छ।

१ सय ७ रनको लक्ष्य पछ्याएको एपिएफले कप्तान सीता रानामगरको अविजित ५२ रनको अर्धशतकीय योगदानमा १२ बलअगावै सफलता निकाल्यो। प्लेयर अफ दी म्याचसमेत घोषित सीताले ५० बलमा सात चौका प्रहार गरिन्। उनले पहिलो विकेटका लागि ज्योति पाण्डेसँग ७० रनको साझेदारी गर्दै एपिएफलाई राम्रो सुरुआत दिलाएकी थिइन्। ज्योति ३२ रनमा संगीता राईको बलमा क्याच भइन्। सरिता मगर ६ रनमै आउट हुँदा इन्दु बर्मा ८ बलमा अविजित रहिन्।

प्रदेश–१ को बलिङमा कप्तान रुविना क्षेत्री र संगीता राईले समान १ विकेट लिए। त्यस्तै सबनम राईले तीन ओभरमा किफायती बलिङ गर्दै ११ रन मात्र खर्चिए पनि विकेटविहीन भइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले खराब सुरुआतका बावजुद निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६ रनको योगफल खडा गर्‍यो। प्रदेश–१ ले खाता नखोल्दै ओपनर अप्सरी बेगमलाई गुमाएको थियो। यद्यपि, कप्तान रुविनाले ४५ रन र रोमा थापाले ३३ रन बनाउँदै प्रदेश–१ को योगफल सय रन पार गराएका थिए। एपिएफकी रेखा रावल, करुणा भण्डारी, सीता रानामगर र विनु बुढाले १/१ विकेट लिए।

प्रकाशित: २२ चैत्र २०७७ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App