coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिदेशीय कप: नेपाल फिनिसिङमा चुक्यो

नेपालले त्रिदेशीय कपको फाइनल प्रवेशका लागि बंगलादेविरुद्धको नतिजा कुर्नुपर्ने भएको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा अवसर धेरै पाए पनि फिनिसिङमा चुक्दा नेपालले फाइनल प्रवेशका लागि बंगलादेशविरुद्धको नतिजा कुर्नुपर्ने भएको हो। तीन राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

मंगलबार पहिलो खेलमा किर्गिस्तानमाथि १–० को जित हात पारेको बंगलादेशले बिहीबार नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेसँगै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। नेपाल र किर्गिस्तानको भने समान १ अंक छ। फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग कम्तीमा बराबरी खेल्न आवश्यक छ। १ गोलभन्दा बढी अन्तरको हारले नेपालको यात्रा समूहचरणमा सीमित हुनेछ।  

किर्गिस्तानविरुद्ध खेलेसँगै मिडफिल्डर त्रिदेव गुरुङ, संजोग राई र निशान खड्कालाई नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेव र संजोग राईलाई सुरुआती ११ मा र निशान खड्कालाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराएका थिए। बुधबार घोषणा गरिएको टोलीमा निशान, संयोग र त्रिदेवसँगै गोलकिपर दीप कार्की र रक्षक छिरिङ गुरुङले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

१० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको किर्गिस्तानविरुद्ध अधिकांश समय बल नियन्त्रणमा लिए पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमा रोकिएको हो। १९औं मिनेटमा पहिलो पहेंलो कार्डको दर्शन गरेका किर्गिस्तानका कप्तान तासहेब कामोलिदिन ६७औं मिनेटमा दोहोरो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि किर्गिस्तानले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।

१४औँ मिनेटमा स्ट्राइकर अञ्जन विष्टको प्रहार गोलपोस्टमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट चुकेको थियो। २९औं मिनेटमा त्रिदेवको क्रसमा स्ट्राइकर अभिषेक रिजालले गरेको हेड बाहिरिएको थियो। ६१औं मिनेटमा रक्षक रञ्जित धिमालको फ्रिकिकमा रोहित चन्दको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो। त्यसको ३२ मिनेटपछि रञ्जितकै फ्रि किकमा अञ्जनले गरेको हेड पनि पोस्टनजिकैबाट बाहिरिएको थियो।  

नेपालका प्रशिक्षक महर्जनले फिनिसिङमा चुक्दा टोली सुखद नतिजाबाट टाढिए पनि समग्र टोलीको प्रदर्शनबाट भने सन्तुष्ट रहेको बताए। ‘हामीले खेल पूर्ण रूपमा नियन्त्रणमा लिँदै धेरैभन्दा धेरै गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा जित हात पार्न सकेनौँ,’ महर्जनले भने, ‘यद्यपि म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु।

कतार विश्वकप २०२२ को छनोट चरणका लागि हामी निरन्तर अभ्यासमा थियौं। त्यस अवधिमा हामीले कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाएका थिएनौँ। त्यसैले हाम्रा लागि यो खेल मात्र नभई यो प्रतियोगिता नै एउटा परीक्षण हो। हामीले टोलीमा भएका कमीकमजोरी सुधार गर्दै लैजाने हो। स्ट्राइकरमा अवसर पाए पनि धैर्यता नहँुदा जितबाट वञ्चित भयौं। महर्जनले बंगलादेशविरुद्ध सुधारिएको प्रदर्शनका साथ फाइनल प्रवेश गर्नेमा आशावादी भएको बताए।

‘हामी बंगलादेशविरुद्ध आजको खेलमा भएका कमजोर पक्ष सुधार गर्दै स्पष्ट ३ अंकका लागि खेल्नेछौँ,’ महर्जनले भने, ‘यो प्रतियोगिता विश्वकप छनोटको राम्रो अभ्यास हो। हामीसँग विश्वकप छनोटअघि तयारीका लागि अझै २ महिनाको समय बाँकी छ। आशा छ यो प्रतियोगिता हाम्रा लागि धेरै फलदायी बन्न सक्छ।’

यता किर्गिस्तानका प्रशिक्षक ज्लोदसोभ नुरबेकले नेपाली टोलीविरुद्ध आफ्नो युवा टोलीले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरेको बताए। ‘मेरा खेलाडीले शतप्रतिशत खेले। नेपाल प्रतियोगिताकै बलियो टोली हो। बंगलादेशको तुलनामा नेपालको खेल निकै तीव्र छ,’ नुरबेकले भने, ‘यस बराबरीपछि हाम्रो फाइनल प्रवेश सम्भावना जीवित नै छ।’

प्रकाशित: १३ चैत्र २०७७ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App