१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीका प्रशिक्षक फ्रेन्चाइजमा

अर्को महिनाबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) का लागि अहिले सहभागी ७ फ्रेन्चाइज टोली मार्की खेलाडी र मुख्य प्रशिक्षको घोषणा गर्नमा व्यस्त छन्। शुक्रबार खेलाडीको अक्सन हुँदै छ।  

हालसम्म ललितपुर एफसी, धनगढी फुटबल क्लब, विराटनगर फुटबल क्लब, चितवन एफसी र काठमाडौं रेजर्सले मार्की खेलाडी सार्वजनिक गरिसकेका छन्। ललितपुरले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अञ्जन विष्ट, चितवनले स्ट्राइकर भरत खवास, धनगढीले विशाल राईलाई मार्की खेलाडीका रूपमा घोषणा गरिसकेका छन्। त्यस्तै विराटनगर फुटबल क्लबले बिहीबार एक कार्यक्रममका बीच राष्ट्रिय टोलीका रक्षक रञ्जित धिमाललाई मार्की खेलाडीका रूपमा भित्र्याएको हो। यसमध्ये धनगढीले मुख्य प्रशिक्षकका रूपमा नाइजेरियाली प्रशिक्षक फुजा तोपे र चितवनले मेघराज केसीलाई प्रशिक्षकका रूपमा सार्वजनिक गरिसकेका छन्।  

पोखरा थन्डर्स र बुटबल–लुम्बिनी फुटबल क्लबले भने अहिलेसम्म मार्की खेलाडी र प्रशिक्षकबारे केही घोषणा गरेका छैनन्।  

काठमाडौं रेजर्सले बिहीबार एक कार्यक्रमबीच मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका गोलकिपर विकेश कुथु र मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनलाई सार्वजनिक गर्‍यो।

विश्व फुटबलको इतिहासमै एकै समयमा राष्ट्रिय टोलीका प्रशिक्षकले क्लब प्रशिक्षकको पनि जिम्मेबारी सम्हालेको घटना विरलै सुनिन्छ। रूस विश्वकप २०१८ सुरु हुनु दुई दिनअघि स्पेनका तत्कालीन प्रशिक्षक योलिन लोप्तेगीले स्पेनिस महारथी रियाल मड्रिडको प्रशिक्षण सम्हाल्ने सम्झौता गरेको भन्दै मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो।

कतार विश्वकप २०२२ को छनोट चरणअन्तर्गतको घरेलु मैदानमा हुने खेलका लागि पछिल्लो एक वर्षयता राष्ट्रिय टोली तयारीमा छ। यसअघि दुई पटक मिति सार्वजनिक भए पनि कोभिड १९ कै कारण फिफाले खेल स्थगित गरेको थियो। सो खेल अब सेन्ट्रल भेन्युका रूपमा कुवेतमा हुनेछ र राष्ट्रिय फुटबल टोली अहिले त्यसैको बन्द प्रशिक्षणमा छ। तत्कालीन मुख्य प्रशिक्षक योहान कालिन नफर्किएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टोलीको कार्यबाहक प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले चैत १० गतेबाट बंगलादेश र किर्गिस्तानको यु–२३ टोली सम्मेलित त्रिदेशीय फुटबल प्रतियोगिता खेल्दै छ।  

उनै महर्जनलाई काठमाडाैं रेजर्सले एनएसएलका लागि मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको हो।  

‘मैले त्रिदेशीय फुटबल प्रतियोगिता सकिएपछि मात्रै एनएसएल टोली काठमाडौ रेजर्सको प्रशिक्षण सम्हाल्नेछु,’ बालगोपालले भने, ‘मैले यसबारे क्लबलाई जानकारी गराइसकें। एनएसएललाई पनि मैले विश्वकप छनोट चरणकै तयारीको रूपमा लिएको छु। एन्फाकै कार्यक्रम भएर म एनएसएलमा सहभागी भएको हुँ। एनएसएलमा क्लब प्रशिक्षकको जिम्मेबारी पूरा गरेपछि म पुनः राष्ट्रिय टोलीको जिम्मेबारीमा फर्कनेछु।’ 

‘म क्लबमा आबद्ध भए पनि राष्ट्रिय टोलीको मेरो प्रशिक्षण टिम यथावत् रहेको छ,’ महर्जनले भने, ‘यस एनएसएल अवधिभर सो टोलीले सबै खेल हेर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आवश्यक परेको खण्डमा विश्वकप छनोटको बन्द प्रशिक्षणमा बोलाउन सक्नेछ। एन्फा महासचिव इन्द्रमान तुलाधरले भने एनएसएल पनि एन्फाकै कार्यक्रम भएकाले बालगोपाल महर्जनलाई एनएसएल अवधिभर क्लब प्रशिक्षण सम्हाल्ने स्वीकृति दिएको बताए।

प्रकाशित: ६ चैत्र २०७७ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App