coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोठामै क्लब बढुवाको खबर सुनेपछि

शनिबार वसन्त तामाङ सातदोबाटोस्थित आफ्नो कोठामा परिवारसँग घरायसी कुराकानी गरेर बसिरहेका थिए। साँझ ५ बजे क्लबका म्याननेजर रबिनले फोन गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको खबर सुनाए। 

सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।

त्यसलगत्तै उनीलगायत क्लबका खेलाडी, प्रशिक्षक र अन्य पदाधिकारी क्लब प्रांगणमा जम्मा हुँदै ‘ए’ डिजिभन सपना पूरा भएको खुसी साटासाट गरे। 'हामी लिगमा लगातार अपराजित रहँदै आएका थियौं, त्यसैले च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा हुनेमा निकै आशावादी थियौं, तर त्यसका लागि हामीले सोमबार मध्यपुर युथसम्मको खेल कुर्नुपर्छ जस्तो लागेको थियो,’ वसन्तले भने, ‘तर हाम्रो चिर प्रतिद्वन्द्वीका रूपमा रहेको खुमलटार श्री भगवतीसँग स्तब्ध भएसँगै दुई खेलअगावै हामी च्याम्पियनको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भयौं।’

यद्यपि लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने सातदोबाटोको लक्ष्यले भने पूर्णता पाउन सकेन। सोमबार भएको खेलमा सातदोबाटो मध्यपुर युथसँग २–१ ले निराश भएको थियो। ‘यो हाम्रा लागि अविस्मरणीय क्षण हो। हाम्रो टिम वर्कले नै यो उपलब्धि हासिल गरेका हाैं,’ वसन्तले भने, ‘क्लब व्यवस्थापनले हामीप्रति देखाएको लगातार विश्वासलाई हामीले यस सिजन पूर्णता दिएका छौं। हामी यसअघिका दुई संस्करणमा राम्रो खेल्दा खेल्दै पनि तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्न बाध्य भएका थियौं। यस पटक क्लबले हामीप्रति देखाएको विश्वासलाई न्याय दिएका छाैं।’  

२०७३ मा एनआरटीसँग महत्वपूर्ण खेलमा स्तब्ध भएपछि टोली निकै दबाबमा रहे पनि क्लब व्यवस्थापनले भने खेलाडीहरूलाई निराश नभई अर्कोे सिजनमा थप सुधारिएको प्रदर्शन गर्न सुझाएको सम्झँदै वसन्त भन्छन्, ‘एनआरटीसँगको हार जीवनकै सबैभन्दा दुखद घटना बन्न पुग्यो। एनआरटीविरुद्धको नतिजाले हामी दुई सिजनअघि नै ‘ए’ डिभिजनमा बढुवा भइसकेका हुन्थ्यौं तर सो खेलमा टोली स्तब्ध भएसँगै हामीले ‘ए’ डिभिजन सपना साकार पार्नका लागि थप दुई सिजन कुर्नुपर्‍यो।’

गत वर्ष सुरु भएको ‘बी’ डिभिजन लिग कोरोना भाइरस महामारीका कारण करिब एक वर्ष स्थगित भएपछि फागुन ११ बाट पुनः सुचारु भएको थियो। लिगको सुरुआतमा सातदोबाटोसँगै खुमलटार र बाँसबारी युथ क्लब उपाधिको दाबेदारका रूपमा रहेका थिए। तर लिग पुनः सुचारु भएपछि भने सातदोबाटोले पनि उपाधि दाबेदारका रूपमा उभ्याइरह्यो। ‘ए’ डिभिजन बढुवाको संघारमा पुगे पनि कोरोना भाइरसका कारण लिग रोकिँदा भने पुनः एक पटक निराश हुनुपर्र्ने हो कि भन्ने शंका रहे पनि अन्तत पुनः लिग सुचारु भएसँगै ‘ए’ डिभिजन सपना साकार भएको वसन्त बताउँछन्।

‘ए डिभिजनमा बढुवा भएका छौं। यसले टोलीको मनोबल बढेको छ। साथसाथै टोलीमाथि उत्कृष्ट प्रदर्शन गर्ने चुनौती थपिएको छ,’ वसन्तले भने, ‘ए डिभिजन लिगमा, मनाङ मस्र्याङदी, थ्री स्टार,आर्मी र पुलिसजस्ता अनुभवी र बलिया टोली छन्। हामीले गर्ने स्वाभाविक प्रदर्शनले त्यहाँ आफ्नो उपस्थिति जनाउन सम्भव छैन। त्यसैले हामीले अझ मिहिनेत गर्दै उत्कृष्टभन्दा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ। सम्भवतः ‘ए’ डिभिजनमा पनि यही टोली हुनेछ, केही खेलाडी थपिन भने सक्छन्।’

प्रशिक्षक संजोग श्रेष्ठ पनि टोलीको ‘ए’ डिभिजन सपना साकार भएसँगै टोलीमा चुनौती थपिएको बताउँछन्। ‘हाम्रो जितको मुख्य आधार भनेकै टिम वर्क हो,’ श्रेष्ठले भने, ‘यसका लागि म सम्पूर्ण खेलाडी, क्लब व्यवस्थापन, टिम म्यानेजर, टिम फिजियो, होस्टलका सबै कर्मचारी र मैदानका कर्मचारीलाई धन्यवाद दिन चाहन्छु। हामी ‘ए’ डिभिजनमा त उक्लिएका छाैं तर हामीमाथि त्यहाँ दरिलो उपस्थिति जनाउने चुनौती थपिएको छ। मलाई यो टोलीमा पूर्ण रूपमा विश्वास छ, त्यसैले ‘ए’ डिभिजनमा पनि टोलीमा यिनै खेलाडी हुनेछन्। यद्यपि हामी टोलीमा केही नयाँ अनुहार पनि भित्र्याउनेछाैं।’

सातदोबाटो युथ क्लब वि सं २०५४ सालमा स्थापना भएको थियो। २०५६ मा क्वालिफायरबाट ‘सी’ डिभिजनमा बढुवा भएको सातदोबाटोले ‘बी’ डिभिजनमा उक्लिन भने एक दशक कुर्नुपर्‍यो। २०६६ देखि ‘बी’ डिभिजन यात्रा सुरु गरेको सातदोबाटोले त्यसको एक दशकपछि भने ‘ए’ डिभिजन सपनासमेत साकार पारेको छ। ‘हामी ‘बी’ डिभिजनमा एक दशक रह्यौं, त्यस दौरान हामीले सधैं एक प्रकारको प्रदर्शनलाई निरन्तरता दियाैं,’ क्लबका अध्यक्ष कपिल थापामगरले भने, ‘हामी पछिल्ला दुई सिजन ‘ए’ डिभिजन बढुवाको संघारमा रहे पनि सफलता भने हात पार्न सकेका थिएनौं।

यस पटक सिजनको सुरुआतबाटै टोलीले आफूलाई बलियो टोलीका रूपमा प्रमाणित गर्दै गयो। सोही प्रदर्शनको निरन्तरताले गर्दा आज हामीले ‘ए’ डिभिजन क्लबको हैसियता पाएका छाैं।’कपिलले ‘ए’ डिभिजन बढुवा भएपछि त्यहाँ पनि हैसियत जोगाइराख्नका लागि भन्दा पनि पहिलो सिजनमै शीर्ष ६ का लागि प्रतिस्पर्धा गर्ने बताए। ‘हो, ‘ए’ डिभिजन लिगमा टिक्न र प्रतिस्पर्धा गर्नु हाम्रा लागि चुनौतीपूर्ण छ,’ कपिलले भने, ‘तर हामीले ‘बी’ डिभिजनमा पनि चुनौतीको सामना गर्दै बढुवाको सपना साकार पारेका हौं। त्यसैले हामी जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार छाैं।’

‘यस सिजनका लागि हामीले करिब ५० लाख खर्चिएका थियौं। हामीलाई थाहा छ, ‘ए’ डिभिजन बढुवा भएसँगै यो बजेट अपुग बन्न सक्छ। टोलीको मुख्य आयस्रोत भनेको हामीले आफ्नै क्लब भवनबाट प्राप्त गर्ने मासिक भाडा र मुख्य प्रायोजक रुस्लानबाट प्राप्त गर्ने रकम हो,’ अध्यक्ष कपिलले थपे, ‘हामीले छिट्टै गोदावरीमा क्लबका लागि अभ्यास मैदान र क्लब एकेडेमी सञ्चालन गर्दै छाैं। ‘ए’ डिभिजनमा बढुवा भएसँगै मुख्य प्रायोजक रुस्लानले प्रायोजन रकम बढाउनेमा आशावादी छाैं। साथै हामीसँग अन्य केही कम्पनी पनि सहप्रायोजकको रूपमा जोडिन सक्छन्।’

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App