८ वैशाख २०८१ शनिबार
खेल

‘बी’ डिभिजन लिग: खुमलटारको सम्भावना जीवित

कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले ब्वाइज युनियनमाथि ३–० को जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग २२ अंकको बराबरी गरेपछि ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावना जीवित राखेको हो। यद्यपि सातदोबाटोले एक खेल कम खेलेको छ।

स्तरीय खेल देखाएको खुमलटारका लागि सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई बिट गर्दै जाली चुमाउन सफल भए। प्रतिस्पर्धात्मक बनेको खेलको ४३औं मिनेटमा सविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफमा लिएको २–० को अग्रतालाई कामय राखेको खुमलटारका लागि ७४औं मिनेटमा आयुष घलानले तेस्रो गोल थपे। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन। अंक सुम्पिएको ब्वाइज युनियन समान ९ खेलबाट १४ जोडेर तालिकाको चौथो स्थानमा यथावत् छ।  

यसअघि बुधबारै सम्पन्न पहिलो खेलमा नयाँ बस्ती युवा क्लब र टुसाल युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा जोगाउन नसक्दा नयाँ बस्ती अंक बाँड्न बाध्य भएको हो। ३९औं मिनेटमा नयाँ बस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुवै टोली अंक बाँड्न पुगे। बराबरीसँगै नयाँ बस्तीले ९ खेलमा १२ अंक जोडेको छ। नयाँ बस्ती छैटौं स्थानमा छ।

अर्को टोली टुसाल समान ९ खेलबाट ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ। प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन्। एन्फा मुख्यालयको मैदानमा हुने पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम ९आरसीटी० र श्री कुमारी क्लबबीच हुनेछ। 

प्रकाशित: २० फाल्गुन २०७७ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App