१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बी डिभिजन लिग: निसानको गोलमा बाँसबारीलाई सफलता

निसान सुनारले गोल गर्दा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकालेको छ। अर्को खेलमा मध्यपुर युथ एसोसिएसन श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित हात पार्न सफल भएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले पुलचोक स्पोर्ट्स क्लबमाथि २–० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएको हो।जारी लिगमा छैटौं जित निकाल्दा बाँसबारीका निसानले दोस्रो हाफमा दुई गोल गरेका हुन्।

खेलको ४७औं मिनेटमा निसानले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६९ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै उनले टोलीको जित निश्चित गरे।  मंगलबारको जितसँगै बाँसबारीले ८ खेलबाट १८ अंक बनाएको छ। ६ खेलमा स्पष्ट जित निकालेको बाँसबारी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यस्तै समान ८ खेल खेलेको पुलचोकको मात्र २ अंक छ। 

पुलचोक तालिकाको पुछारमा छ। मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो। ४०औं मिनेटमा आशिष राईले गोल गर्दै कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि मध्यपुरका कैलाश खत्रीले गोल गर्दै खेल बराबरीमा ल्याए।  

पहिलो हाफ बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा धीरज श्रेष्ठले गोल गर्दै मध्यपुरको अग्रता उल्टाए। बाँकी समय कुमारी क्लबले खेलमा फर्किन निकै संघर्ष गरे पनि मिलेका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा अंक सुम्पिन बाध्य बन्यो। जितसँगै मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ।

मध्यपुर तालिकाको नवौं स्थानमा उक्लिएको छ। समान ८ खेल खेलेको कुमारीको पनि ७ नै अंक छ। कुमारी आठौं स्थानमा छ। लिगमा बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा नयाँ बस्ती युवा क्लबले टुसाल युथ क्लबसँग खेल्दा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच दोस्रो खेल हुनेछ। 

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App