८ वैशाख २०८१ शनिबार
खेल

पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै

फुटसल प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दिदैं आयोजक । तस्बिर उमेश पुन÷नागरिक

चैत दोस्रो साता पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ । स्र्पोटस क्यासल पोखरा–४ गैह्रपाटनको आयोजना तथा राजन ब्रदरहुडको प्रस्तुतिमा पहिलोपटक ३ लाख नगद राशीको फुटसल प्रतियोगिता आयोजना गरिएको हो । आगामी चैत १० देखि १२ गतेसम्म स्पोर्टस क्यासलको फुटसल एरिनामा शुरु हुने छ ।  

फुटबल र फुटसलको विकास गर्ने उद्देश्यसहित राजन ब्रदुरहुडको प्रायोजनमा पुरस्कार राशीको प्रतियोगिता आयोजनाको तयारी गरिएको ब्रदरहुडका अध्यक्ष राजन गुरुङले सुनाए । ‘पोखरामा फुटबल र फुटसलको क्रेज छ । त्यो क्रेजलाई ध्यान राख्दै फुटबल र फुटसल विकासमा नयाँ आयाम थप्ने विश्वास हामीले लिएका छौं,’  आईतबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले सुनाए ।  

पोखराको फुटसल टोलीमा दुई राष्ट्रिय खेलाडी मात्रै छन् । युवा पुस्तालाइ फुटसल प्रति अभिप्रेरित गर्ने अभिप्राय रहेको उनले बताए । राष्ट्रियस्तरका फुटसल खेलाडी उत्पादन गर्ने योजनामा प्रतियोगिता कोशेढुंगा हुने विश्वास आयोजकले लिएको छ । सहभागिताको लागि स्वदेशी तथा विदेशी टिमलाई आमन्त्रण गरिने प्रतियोगिता संयोजक आशिष क्षत्रीले जानकारी दिए । ‘आउनेलाई हामीले रोक्दैनौ । नेपालमै पहिलो भएकोले सभ्य र भव्य बनाउने योजना छ,’ ब्रदरहुडका अध्यक्ष गुरुङले थपे ।  

प्रतियोगितामा बढीमा ३५ टोलीलाई समावेश गरिने लक्ष्य छ । भारतको सिक्किमको टोली समेत आउने सम्भावना रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगिताको विजेताले नगद ३ लाख पुरस्कार स्वरुप पाउने छ । उपविजेता टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक क्षत्रीले जानकारी दिए । खेल फिफाको फुटसल नियमानुसार सञ्चालन गरिने छ । उत्कृष्ट खेलाडीलाई २५ हजार र उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको लागि आयोजकले १२ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।   

प्रकाशित: १६ फाल्गुन २०७७ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App