७ वैशाख २०८१ शुक्रबार
खेल

आलोचना गरेको भन्दै क्रिकेट संघका टुर्नामेन्ट डाइरेक्टरलाई हटाईयो

क्रिकेट संघ कास्कीको नेतृत्वविरुद्ध बोलेको भन्दै टुर्नामेन्ट डाइरेक्टरलाई पदबाट राजिनामा दिन बाध्य पारिएको छ । क्रिकेट संघ कास्कीको नेतृत्वले क्रिकेटको विकासका लागि काम नगरेको भन्दै पत्रकार सम्मेलनमा बोलेको आरोपमा सुपर जनरल इन्टर क्लव टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर बिरेन पुनले पदबाट राजिनामा दिनु परेको हो ।  

संघको दवाबमा आयोजकले राजिनामा मागेपछि बाध्य भएर पद घाछ्नु परेको श्रोतले दाबी छ । पुन क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी हुन् । सुपर जनरल इन्टर क्लव टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा  प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर पुनले क्रिकेट संघको नेतृत्व क्रिकेटको विकासका लागि नलागेको टिप्पणी गरेका थिए । 

पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘लामो समयदेखि ओरालो लागेको कास्की क्रिकेट संघ अहिले पनि उस्तै अवस्था छ । अहिलेको अध्यक्ष सञ्जयकान्त सिग्देलले पनि भित्तामा फोटो झुण्ड्याउने बाहेक खासै योगदान दिन सकेनन ।’ उनले अगाडि भनेका थिए, ‘कास्की क्रिकेटको हरेक कालखण्डमा शासक वर्गले क्रिकेटको नाममा राजनीति र सत्ताको सुखभोग त ग¥यो तर बास्तविक क्रिकेटको प्रवद्र्धन गर्ने प्रयास कहिल्यै गरेन ।’ उनले थपेका थिए, ‘कास्कीको क्रिकेटलाई  व्यवसायिक र आत्मनिर्भर बनाउने दिशामा कुनै नीति, योजना बनाउने वा पहल गर्ने काम गरेनन् ।’

पत्रकार सम्मेलनमा पुनले बोलेको समाचार सार्वजनिक भएपछि संघको नेतृत्व आक्रोशित भएको श्रोतको दाबी छ । लगत्तै संघको अध्यक्ष सिग्देलले प्रतियोगिता आयोजक के.एन.स्पोर्टस प्रालिका अध्यक्ष कमल थापालाई फोन गरेर आफ्नो आलोचना गर्ने टुर्नामेन्ट डाइरेक्टर पुनलाई बर्खास्त गर्न दवाब दिएका थिए । पुनलाई बर्खास्त नगरे प्रतियोगिताका लागि खेल मैदान उपलब्ध नगराउने, मैदान उपलब्ध गराएपनि मैदानको शुल्क शतप्रतिशत लिने तथा पुनलाई मैदान प्रवेशमा निषेध गर्ने तथा उनी सहभागि कार्यक्रम आफूले बहिस्कार गर्ने चेतावनी दिएको श्रोतको भनाई छ ।

संघका अध्यक्ष सिग्देलले दवाब दिएपछि आयोजक के.एन.स्पोर्टस प्रालिका अध्यक्ष कमल थापाले पुनलाई टुर्नामेन्ट डाइरेक्टर पदबाट राजिनामा दिन आग्रह गरे । ‘तपाईंले राजिनामा दिनु प¥यो, थापालाई उद्धृत गर्दै पुनले भने, ‘होइन भने प्रतियोगिता गर्न मुश्किल भो, खर्चपनि बढ्ने भो ।’ आयोजकको दवाबसामु निरिह बनेका पुनले शनिबार पदबाट राजिनामा दिएका छन् । राजिनामापत्रमा उनले व्यक्तिगत कारण देखाएपनि आयोजक र क्रिकेट संघको दवाबका कारण राजिनामा दिनु परेको नागरिक न्यूजलाई बताए ।  

‘संघले आयोजकलाई प्रेसर दियो, पुनले भने, ‘आयोजकले मलाई दवाव दिएपछि राजिनामा दिन बाध्य भए ।’ आफूले गल्ती गरेको भए के गल्ती बोले भनेर भन्न सक्नु पर्ने उनले बताए । उनले भने,‘मैले गलत बोलेको भए गलत बोलिस्, किन यस्तो बोलेको भनेर स्पष्टिकरण सोधोस् ।’ उनले आफूलाई क्रिकेट मैदानमै प्रवेश गर्न निषेध गरेको भन्दै यो अधिकार कसले दियो भनेर प्रश्न गरेका छन् । आयोजक के.एन.स्पोर्टस प्रालिका अध्यक्ष कमल थापाले कसैको दवाबमा नभई बिरेन पुन आफैले राजिनामा दिएकाले स्वीकारेको बताए । ‘कसैको दवाब वा प्रभावमा परेर उहाँको राजिनामा मागेका होइनौं,’ उनले भने, ‘व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएकाले स्वीकृत गरेका हौं ।’

क्रिकेट संघ कास्कीका अध्यक्ष सिग्देलले भने पुनको राजिनामा प्रकरणमा आफ्नो संलग्नता स्वीकारेका छन् । संघ भित्रै रहेर संघको अनुशासन विपरित बोलेकाले एक्सनमा जानु परेको उनको भनाई छ । क्रिकेट संघले गरेन भन्ने अनि त्यहि संघले निर्माण गरेको मैदानमा गएर खेल्ने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘त्यस्तालाई मैदान शुल्कमा किन छुट दिने ? ।’ अधिकार छ भन्दैमा जेपनि बोल्न नपाइने भन्दै उनले अगाडि थपे, ‘त्यहि भएर मैले आयोजकलाई संघबिरुद्ध बोल्ने बिरेन पुन भएको ठाउँमा म उपस्थित हुन्न भनेको हुँ, तर प्रवेश निषेधचाहिँ गरेको होइन ।’ आफू अम्पायरसमेत भएकाले बिरेन पुन भएको ठाउँमा गएर अम्पायरसमेत गर्दिन पनि भनेको उनले बताए । ‘मेरै विरोध गर्ने मान्छेको प्रतियोगितामा गएर मैले कसरी खेलाउने ? त्यहि भएर खेलाउँदिन भनेको हुँ,’ उनले भने । पुनको राजिनामा मागेको बारेमा भने आफू अनभिज्ञ रहेको उनले बताए ।

प्रकाशित: १५ फाल्गुन २०७७ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App