कोभिडका कारण लामो समयदेखि थलिएको खेलकुद क्षेत्रलाई लयमा फर्काउन उदयपुरमा फागुन तेस्रो साता खेलकुद महोत्सव गरिने भएको छ । झण्डै १ वर्षयता कोभिडले थलिएर भर्खर गतिबिधि सुरु भएको खेलक्षेत्रलाई तीव्रता दिन उदयपुरमा ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ आयोजना गर्न लागिएको हो ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गरी त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव गर्न लागेको जानकारी दिइयो । नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार फागुन २१ गतेदेखि २९ गतेसम्म साताव्यापी महोत्सव गर्ने जनाएको छ । नगर खेलकुद समितिले गर्न यो महोत्सव जिल्लाको खेलकुद इतिहासमै पहिलो भएको दावी गरेको छ ।
‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव उदय राईले बताए । त्रियुगा नगरपालिकाको संयोजनमा हुने महोत्सव नगरका १६ वटै वडाका खेलाडीको सहभागिता रहनेछ । बहुखेलमा स्पर्धा गराइने महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, साईक्लिङ, कराते, बक्सिङ र तेक्वोन्दोमा स्पर्धा गराइने छ ।
महोत्सवको उद्घाटन तथा समापन कार्यक्रम गाईघाटस्थित थरुहट–उदयपुर रंगशालामा हुने छ भने प्रतिस्पर्धा भने फरक फरक ठाउँमा गराइने आयोजक त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । उनका अनुसार भलिबलमा १० नं. वडाको बोक्सेस्थित नयाँबस्ती खेलमैदानमा प्रतिस्पर्धा गराइने छ भने क्रिकेट ११ नं. वडाको पूर्व–पश्चिम बरुवा बसपार्कको प्रांगणमा हुनेछ । साईक्लिङ प्रतिस्पर्धा त्रिनपा ११ कै चप्पन जङगलको ट्रयाकमा गराइने महोत्सवमा कराते, बक्सिङ र तेक्वोन्दाको प्रतियोगिता १० कै बोक्सेस्थित जिल्ला खेलकुद विकास समितिको कबर्डहलमा सञ्चालन गरिनेछ ।
महोत्सवमा सबै विधातर्फ गरी करिब ८ सय हाराहारी खेलाडीको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता बिजेता प्रथम, दोस्रो हुने क्रमशः ५० हजार र ३० नगद तथा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै भलिबलमा पुरुषतर्फ प्रथमलाई २५ र दोस्रोलाई १५ तथा महिलातर्फ प्रथमलाई २५ र महिलालाई १२ हजार नगदसँगै ट्रफि प्रमाणपत्र प्रदान गरिने छ । साईक्लिङमा पुरुषतर्फ प्रथम र दोस्रो हुनेलाई क्रमशः ३० र १५ तथा महिलालाई २० र १० प्रदान गरिने छ ।
कराते, क्रिकेट, बक्सिङ र तेक्वान्दोका खेलाडीहरुलाई पनि नगद, ट्रफि र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदीयमानलाई पनि प्रोत्साहन पुरस्कारस्वरुप नगद, ट्रफि र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोजकको भनाई छ ।
नगरपालिकाका बिभिन्न वडामा रहेका प्रतिभावान खेलाडीलाई सशक्त बनाउँदै खेलकुदको माध्यमबाट अनुशासित र गतिसिल बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए । उनका अनुसार चालु वर्ष खेलकुद शीर्षकमा बिनियोजित १३ लाख ५० हजार बजेटबाट महोत्सव गर्न लागिएको हो । नगरपालिकाले खेलकुदका लागि हरेक वर्ष बजेट छुट्याएर गतिबिधि गर्दै आएको निरन्तरता स्वरुप यो वर्षको बजेटले सबैखाले खेलकुद समेट्न महोत्सव आयोजनना गरिएको अधिकृत थापाले बताएका छन् ।
प्रकाशित: १५ फाल्गुन २०७७ ०६:०२ शनिबार