अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटीले ग्यारीलाई बिहीबार रिक्त रहेको महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। यसअघि ग्यारीलाई एन्फाले एक वर्षअघि प्राविधिक निर्देशकका रूपमा अनुबन्धित गरेको थियो।
ग्यारीको प्रशिक्षणमा नेपालले एएफसी एसियन कप छनोट र महिला साफ च्याम्पियनसिप खेल्नेछ। नेपाली महिला राष्ट्रिय टोलीले गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली प्रशिक्षकविहीन छ। फाइनल खेलमा भारतसँग पराजित भएपछि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए। त्यसयता महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको छैन। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्ष अस्ट्रेलिया फर्किएका ग्यारी केही महिनाअघि मात्र नयाँ सम्झौतापछि नेपाल आइपुगेका थिए।
प्रकाशित: १४ फाल्गुन २०७७ ०६:५३ शुक्रबार