coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

व्यावसायिकतातर्फ महिला फुटबल

हालै सम्पन्न महिला राष्ट्रिय लिगले महिला फुटबललाई व्यावसायिकतातर्फ एक कदम अघि बढाएको खेलाडी र प्रशिक्षकले बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा माघ ७ देखि फागुन ७ सम्म गरी एक महिला डबल राउन्ड रोबिन पद्धतिमा भएको लिग च्याम्पियन एपिएफले १२ खेलमा शतप्रतिशत नतिजा कायम राख्यो।

यसअघिका लिगमा जस्तै यस पटक पनि विभागीय टोलीको दबदबा कायमै रह्यो। एपिएफले शीर्ष स्थान पक्का गर्दा त्रिभुवन आर्मी क्लब दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहे। वालिङ नगरपालिका चौथो बन्दा विराटनगर महानगरपालिका पाँचाैं, चन्द्रपुर नगरपालिका छैटौं स्थानमा रहे। १२ खेलमा अंक खाता खोल्न नसकेको चौदण्डीगढी नगरपालिका साताैं स्थानमा सीमित बन्यो ।

लिगमा सहभागी १० टोलीमध्ये तीन विभागीय टोली एपिएफ, आर्मी र पुलिस स्वतः अन्तिम चरणका लागि छनोट भएका थिए। महानगरपालिका र नगरपालिकाका टोली भने गत माघमा सम्पन्न उपमेयर कपको शीर्ष ४ मा बस्दै महिला राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

एन्फाले पहिलो पटक डबल राउन्ड रोबिन पद्धतिमा सञ्चालन गरेको लिगमा विदेशी खेलाडीको आगमनले पनि ऊर्जा थपेको थियो। वालिङ नगरपालिकाले ४ क्यामरुनी खेलाडी मैदान उतार्दा विराटनगर र चौदण्डीगढीले समान ४ भारतीय खेलाडीलाई मैदान उतारेका थिए। लिगको अन्त्यतिर लिगकी सर्वाधिक गोलकर्ता एपिएफकी सावित्रा भण्डारीको चोटले प्रतियोगितलाई खल्लो बनाएको थियो। घुँडाको चोटका कारण सावित्रा करिब ९ महिना मैदानबाहिर रहनेछिन्।

महिला लिगले व्यासायिकताको संकेत गरे पनि आगामी संस्करणको राष्ट्रिय महिला लिगको संरचना कस्तो हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ। राष्ट्रिय महिला लिगकी संयोजक पेमाडोल्मा लामाले आगामी संस्करणको महिला लिग कुन संरचनामा गर्ने र सहभागी टोलीको टुङ्गो कुन आधारमा निर्धारण गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताइन्।

‘यस पटक हामीले डबल राउन्ड रोबिन पद्धतिमा लिगको सुरुआत गर्‍याैं। हामीले भव्यताका साथ लिग सम्पन्न गर्‍याैं। यो सुरुआत मात्र हो। प्रतियोगिताको सफलताले ऊर्जा थपिएको छ,’ लामाले भनिन्, ‘यस लिगमा सहभागी ४ नगरपालिकाका टोली १८ टोली सम्मिलित छनोट चरणमा उत्कृष्ट टोली बन्दै अन्तिम चरणमा छनोट भएका थिए। तीन विभागीय टोली र यस पटकको लिगमा सहभागी नगरपालिकाका ४ टोली गरी ७ टोलीलाई यथावत् राख्दै लिगमा सहभागी टोलीको संख्या बढाउने विषयमा पनि छलफल जारी छ।’ 

लामाले विगतमा विभागीय टोली र मोफसलका टोलीबीच देखिएको स्तर अन्तर कम गर्ने उद्देश्यले विदेशी खेलाडी भित्र्याउन अनुमति दिएको र उनीहरूको आगमनले नेपाली महिला फुटबल व्यावसायिकताको चरणमा प्रवेश गरेको बताइन्। ‘यस पटकको लिगले राष्ट्रिय महिला टोलीमा धेरैभन्दा धेरै खेलाडी अटाउने संकेत गरेको छ,’ लामाले भनिन्, ‘टेक्निकल कमिटीले लिगबाट छनोट गरेका ४० खेलाडीलाई समावेश गर्दै छिट्टै राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण सुरु गर्छौं ।’ 

यता वालिङका प्रशिक्षक दिलीप थापाले भने विदेशी खेलाडीको आगमनले मात्र नेपाली महिला फुटबल व्यावसायिकतातर्फ अघि बढ्यो भन्न नमिल्ने बताए। ‘अहिले पनि नगरपालिकाका टोलीलाई नयाँ खेलाडी उत्पादन गर्न त कता हो भएकै खेलाडी टोलीमा टिकाउन मुस्किल छ,’ थापाले भने, ‘मोफसलका राम्रा खेलाडीको चाहना विभागीय टोलीबाट खेल्ने हुन्छ, कारण उनीहरूले त्यहाँ भविष्य सुनिश्चित देख्छन्। त्यसैले जबसम्म विभागीय टोलीबाहेक अन्य क्लबबाट खेल्दासमेत सहजै जीविकोपार्जन गर्न सकिन्छ भन्नेमा उनीहरू स्वयम् ढुक्क हुँदैनन्, तब मात्र विभागीय र मोफसलको टोलीबीचको खाडल पुरिन्छ ।’

यस पटकको लिगमा विदेशी खेलाडीको आगमनले लिगमा नयाँ आयाम थपेको थापाको बुझाइ छ। तर विदेशी खेलाडीको आगमनले मात्र नेपाली महिला लिगमा व्यावसायिकता भित्रियो भन्न नहुने थापाको भनाइ छ। ‘पक्कै पनि विदेशी खेलाडीको आगमनले लिगमा रौनकता थपेको छ, थापाले भने, ‘तर उनीहरूको आगमनले मात्र नेपाली महिला फुटबलमा व्यावसायिकता भित्रियो भन्न मिल्दैन। यद्यपि उनीहरूबाट नेपाली खेलाडीले धेरैभन्दा धेरै सिक्ने अवसर पाए।’

यता चन्द्रपुर नगरपालिकाका प्रशिक्षक नुरराज काफ्लेले पनि नयाँ संरचनाको लिगले खेलाडीले धेरै खेल खेल्दै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएको बताए। ‘एन्फाले पहिलो पटक डबल राउन्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्‍यो, जुन सकारात्मक पक्ष हो,’ काफ्लेले भने, ‘टोलीको प्रदर्शन र नतिजाबाट हामी सन्तुष्ट छाैं।

विराटनगर, चौदण्डीगढी र वालिङ नगरपालिकाले विदेशी खेलाडी मैदान उतारेका थिए। उनीहरूको आगमनले केही हदसम्म भए पनि नेपाली महिला फुटबलको व्यावसायिकतामा टेवा पुर्‍याउने नै छ।’ काफ्लेले १२ खेल खेल्दा प्रशस्त खेल्ने अवसर पाए पनि व्यस्त तालिकाले भने खेलाडी मारमा परेको बताए।

उनले अहिले टोलीमा रहेका ६ खेलाडी एपिएफको भर्नामा जाने भएकाले टोलीमा नयाँ खेलाडी भित्र्याउँदै अभ्यासलाई निरन्तरता दिने बताए। ‘लिगमा नयाँ खेलाडीको आगमनमा धेरै सहयोग पुर्‍याउँछ। तर एन्फाले लिगको संरचना थप लम्ब्याउँदै खेलतालिका केही सहज बनाउन आवश्यक छ,काफ्लेले थपे।

प्रकाशित: ११ फाल्गुन २०७७ ०५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App