१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जोकोभिचलाई नवौं पटक उपाधि

विश्व नम्बर एक सर्बियन स्टार नोभाक जोकोभिचले रसियन स्टार डेनिल मेदभेदेभलाई सोझो सेटमा हराउँदै आइतबार नवौं पटक अस्ट्रेलियन ओपनकाे उपाधी उचालेका छन्। मेलबर्न पार्कस्थित रड लाभेर एरिनामा आइतबार भएको फाइनलमा मेदभेदेभलाई ७–५, ६–२ र ६–२ ले सहजै स्तब्ध बनाउँदै जोकोभिचले नवौं पटक अस्ट्रेलियन ओपन उचालेका हुन्।

करिब सात हजार चार सय दर्शक उपस्थित फाइनलमा सफलता प्राप्त गर्दै जोकोभिचले लगातार तेस्रो पटक अस्ट्रेलियन जिते। यता, यो पराजयसँगै विश्व नम्बर चार मेदभेदेभको अपराजित यात्रा २० खेलमा टुङ्गिएको छ। यो उपाधिसँगै जोकोभिचले १८औं ग्रान्ड स्लाम आफ्नो बनाउँदा रोजर फेडेरर र राफाइल नाडालभन्दा दुई ग्रान्ड स्लामले पछि छन्। एउटै ग्रान्ड स्लाममा सबैभन्दा बढी सफलता प्राप्त खेलाडीमा जोकोभिच दोस्रो स्थानमा छन्।

नाडालले १३औं पटक फ्रेन्च ओपन उचाल्दा फेडेररले सर्वाधिक आठौं पटक विम्बल्डन जितेका छन्। यस सिजनको अस्ट्रेलियन ओपनलाई जोकोभिचले आफ्नो करियरकै सबैभन्दा कठिन प्रतियोगिताका रूपमा लिएका छन्। मिडिया र पब्लिकबाट लगातार आलोचना खेपिरहेको समय जोकोभिचले चोटसमेत बोकेका थिए। यद्यपि, ती चुनौती पार गर्दै उनले सफलता हात पारे।

खेलअघि १४ दिनको क्वारेन्टिन पूरा नगर्नु र टेनिस अस्ट्रेलियालाई जोकोभिचले लेखेको पत्रका कारण आलोचना खेप्नुपरेको थियो।  उनको त्यस पत्रलाई ‘स्वार्थी र संकुचित’ भनेर व्याख्या गरिएको थियो। ‘यो प्रतियोगिता मेरो करियरकै कठिनपूर्ण रह्यो। क्वारेन्टिनका समयमा पनि मिडियामा धेरै किसिमका चर्चा आए।

 मेरो पत्रका विषयलाई लिएर पनि गलत रूपमा व्याख्या गरियो,’ जोकोभिचले भने, ‘यसबीच मैले तेस्रो चरणमा चोट पनि बेहोरें। त्यो चोटका कारण प्रतियोगिताबाटै बाहिरिने अवस्था पनि आएको थियो।’ तेस्रो चरणमा टेलर फ्रिट्जसँगको खेलमा जोकोभिचले चोट बोकेका थिए।

मेदभेदेभमाथि जितसँगै जोकोभिचले शीर्ष वरीयतामा पनि नयाँ रेकर्ड बनाउनेछन्। सोमबार नयाँ वरीयता जारी हुँदा जोकोभिचले ३ सय ११ हप्ता विश्व नम्बर १ मा बिताउनेछन्। यसअघि फेडेररको नाममा ३ सय १० हप्ता छ। फाइनलमा प्रतिस्पर्धा गरेका मेदभेदेभले आफ्नो विश्व वरीयतामा सुधार गर्दा तेस्रो स्थानमा समेत उक्लिनेछन्। 

प्रकाशित: १० फाल्गुन २०७७ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App