coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुख्यमन्त्री कप भलिबल : म्याग्दी र तनहुँलाई उपाधि

पोखरामा जारी मुख्य मन्त्री कप भलिबल प्रतियोगिताका विजेता टोली। प्रतियोगिताको महिला तर्फ म्याग्दी र पुरुष तर्फ तनहुँ जिल्लाले उपाधी जितेको हो। तस्बिरः उमेश पुन/नागरिक

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो। शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत जिल्लालाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्दै दुई लाख नगद राशीको उपाधि आफनो नाममा लेखायो। पर्वतले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।  

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फका उपाधि तनहुँले उचाल्यो। एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै तनहँुले स्याङजामाथि ३–२ सेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। पहिलो सेट स्याङजालाई २५–२३ तनहुँले गुमाउन पुग्यो। दोस्रो र तेस्रो सेट भने तनहुँले आफनो पक्षमा पार्यो। २५–१७ र २५–२० मा लगातार दुई सेट लिएको तनहुँले चौथो सेट भने स्याङलाई सुम्पिदैं खेल नाटकीय रुपमा पाँचौ सेटमा पुग्यो। चौथो सेट तनहँुले स्याङजालाई १३–२५ मा सुम्पिएपछि खेल निकै प्रतिस्पर्धात्मक मोडमा पुग्यो। अन्तिम तथा निर्णायक सेटमा भने तनहुँले स्याङजालाई १५–१० को सेटले पन्छाउँदै पहिलो मुख्यमन्त्री कप भलिबलको उपाधि आफनो नाममा लेखायो। नगद २ लाख रुपैयाँ प्राप्त गर्दा स्याङजा भने उपविजेता बन्दै नगद १ लाखमा चित्त बुझाउन बाध्य भयो।  

पुरुष तर्फको तेस्रो स्थानमा भने पर्वत रह्यो। पर्वत जिल्लाले म्याग्दीलाई २३–२५, २५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै नगद ५० हजार पुरस्कार प्राप्त गर्यो। महिला तर्फको तेस्रो स्थानमा भने तनहुँले कास्कीलाई पराजित गर्दै तेस्रो स्थानमा रह्यो। तनहुँले कास्कीमाथि २५–१६, २२–२५, २५–१४ र ३०–२८ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै ५० हजार प्राप्त गर्न सफल भयो। प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।  

महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित भईन्। पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित भइ। यसैगरी विधागत महिला तर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए। त्यसैगरी पुरुष तर्फ विधागत पुरस्कार क्रमश स्पाईकरमा तनहँुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनहँुँका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भए। विधागत विजेता खेलाडीहरुलाई नगद ५÷५ हजारसहित ट्रफी र पदक प्राप्त गरिएको थियो। विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए। 

प्रकाशित: ८ फाल्गुन २०७७ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App