६ वैशाख २०८१ बिहीबार
खेल

आफै सहयोग जुटाएर खेल्दैछन् म्याग्दीका खेलाडी

जिल्लाको नाम राख्न खेलाडीलाई खर्च जुटाउनै पर्ने बाध्यता

म्याग्दी भलिबल संघका राजकुमार भण्डारी यतिबेला गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका सहभागी खेलाडीलाई आवश्यक खर्च ब्यवस्थापनमा ब्यस्त छन् । प्रतियोगिता अगावै पोखरामा एकसाता बन्द प्रतिक्षणमा बसेका खेलाडी, अफिसियलको खान र बस्नको व्यवस्था, जर्सी सहित खेल साम्रागीका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोग संकलन गरिएको थियो ।  

बन्द प्रशिक्षणको अवधिमा खेलाडीलाई आवश्यक पर्ने सम्पूर्ण खर्चको ब्यवस्थापनमै हम्मेहम्मे भएको म्याग्देली टोलीले हालसम्म करिब २ लाख सहयोग जुटाएको म्याग्दी समुहको ब्यवस्थापक भण्डारीले बताए । ‘चाहिने सबै खर्च भने जोहो गरिसकेको छैन, अहिले पनि आवश्यक खर्चका लागि सहयोग जुटाउन ब्यस्त छौ,’ उनले भने । उनले प्रतियोगितामा खेलाडीलाई आवश्यक पर्ने कुनै पनि खर्चको अभाव हुन नदिन आवश्यक परेमा ऋण पनि खोज्नुपर्ने बताए ।  

खेलाडीका लागि म्याग्दीका केही स्थानीय तहले सहयोग गर्ने आश्वासन दिए पनि प्राप्त भइनसकेको भण्डारीले बताए । ‘प्रतियोगिता सम्पन्न हुँदासम्म खर्च जुटाउनै पर्नेछ, ‘खेलाडीलाई निराश हुन दिन्नौ,ं’ म्याग्दी टिम प्रशिक्षक तेजेन्द्र बानियाँले भने । उनले आर्थिक ब्यवस्थापनको अभावमा प्रतियोगितामै सहभागि हुन नसक्ने अवस्थालाई रोक्न सहयोग जुटाएरै भएपनि पोखरासम्म आएको बताए । प्रशिक्षक बानियाँले सरकारी तहबाट पनि सहयोग भएमा म्याग्दी भलिबलको खेल थप उत्कृष्ट हुने बताए ।

प्रशिक्षण र नियमित प्रतियोगितामा खेलाडीलाई आवश्यक पर्ने खानामा खर्चको अभाव हुनसक्ने भएपछि सहयोगको अभियानमा जुटेको बानियाँले बताए । ‘खेलकुदमा बजेट नै छैन्, ‘म्याग्दीमा खेलाडीको छाता संस्था नै लथालिङ छ,’ उनले भने । म्याग्दी खेलकुद विकास समिति नेतृत्वविहीन अवस्थामा रहेकाले खेलाडी र ब्यवस्थापकलाई थप दवाव परेको उनले बताए । यसटक सहयोग जुटाएरै भएपनि उपाधी जितेर प्रदेशभित्र म्याग्दीलाई भलिवल प्रतियोगिताका लागि हब’ का रुपमा सन्देश दिने तयारीमा म्याग्देली टोली रहेको उनले बताए ।  

प्रतियोगितामा म्याग्दीबाट सहभागी राष्ट्रिय भलिबल टोलीकी कप्टान अरूणा शाहीले समेत खेलकुदमा राज्यका कुनैपनि निकायबाट प्रयाप्त बजेट बिनियोजन नहुदाँ अन्य विकल्पबाट सहयोग जुटाउनुपर्ने अवस्था रहेको बताईन् । ‘अभावकैबीच हामी जिल्लाको खेलकुद प्रतियोगितालाई स्थापित गर्न चाहन्छौ, खेलाडी अनुकुल नीति र बजेट नहुदाँ प्रतिभा खुम्चिएको छ,’ कप्तान शाहीले भनिन् । उनले आफ्नो जिल्लालाई जिताउन निरन्तर खटिएको समेत बताईन् ।

प्रतियोगितामा महिलातर्फ म्याग्दी फाइनलमा प्रवेश गरेको छ । म्याग्दीमा स्थानीय, प्रदेश र संघीय सरकारमार्फत प्राप्त बजेटले खेलमैदान बनाउन विनियोजन गरेपनि खेलाडीको क्षमता विकासका लागि भने कुनैपनि तहबाट प्रयाप्त बजेट विनियोजन गरिएको छैन् । खेलाडीले खेल जितेर प्राप्त गरेको पुरस्कारलाई समेत खेल्ने क्रममा भएको खर्चको ब्यवस्थापन समेत गर्नुपर्ने बाध्यता रहेको छ ।  

खेलाडीले जिल्लामा तालिम, गोष्ठी र अनुगमन लगायतका फजुल खर्चमा लाखौं बजेट विनियोजन गर्ने गरिएपनि खेलकुद र खेलाडीको हितमा बजेट नहुदाँ चन्दा माग्नुपर्ने अवस्थाले नै खेलबाट बाध्य भएर पलायन हुनुपर्ने अवस्था आएको भन्दै दुखेसो गरे । प्रतियोगितामा मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि भएका छन ।  

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २–२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १–१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०–५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५–५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाई समेत नगद ५–५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App