५ वैशाख २०८१ बुधबार
खेल

महिला फुटबल लिगः तेस्रो हुन वालिङ र पुलिसको प्रतिस्पर्धा

वालिङकी मेथो रुथलाई रोक्ने प्रयास गर्दै चन्द्रपुरकी कप्तान अन्जु लोप्चन (सेतो)। तस्बिर : नागरिक

चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जितका साथ वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ। १२ खेलको समाप्तिमा वालिङ १७ अंकका साथ तेस्रो स्थानमा छ। वालिङले लिगमा १२ खेलमा समान ५ जित र ५ हार तथा २ खेल बराबरी खेलेको थियो। बुधबार विराटनगर महानगरपालिकामाथि १–० को जितपछि लिग उपाधि पक्का गरिसकेको एपिएफ ११ खेलमा ३३ अंकका साथ शीर्ष स्थानमा छ। 

समान ११ खेलमा २६ अंक बटुलेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ। १२ खेलमा १६ अंक जोडेको विराटनगर चौथो स्थानमा छ। एक खेल कम खेलेको नेपाल पुलिस क्लब १५ अंकका साथ पाँचौं स्थानमा छ। शुक्रबार हुने लिगको अन्तिम खेलमा चौदण्डीगढी नगरपालिकामाथि ३ अंक जोडेमा पुलिसले तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्नेछ। चन्द्रपुर ९ अंकका साथ छैटौं स्थानमा छ भने लिगका ११औं खेलसम्म पनि जितको स्वाद चाख्न नसकेको चौदण्डीगढी सातौं स्थानमा छ।  

१७औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो। ४७औं मिनेटमा मेथो रुथले बललाई जाली चुमाउँदै वालिङले अग्रता दोब्बर पारेकी थिइन्। त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पुर्‍याएकी थिइन्। वालिङका प्रशिक्षक दिलीप थापाले लिगमा आफ्नो लक्ष्य कम्तीमा दोस्रो स्थान पक्का गर्ने रहे पनि मुख्य खेलाडीको चोट र टोलीले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा सोचेअनुरूपको नतिजा ल्याउन नसकेको बताए।

‘हामीले उपाधिकै लागि खेलेको हो तर स्वाभाविक प्रदर्शन भने गर्न सकेनौं,’ थापाले भने, ‘विभागीय टोलीसँग नगरपालिकाको टोलीको स्तर निकै कमजोर छ। पहिलो चरणको नतिजापछि हामीले दोस्रो स्थानमा बस्ने लक्ष्य लिएका थियौं तर दोस्रो चरणमा पनि टोलीले उल्लेख्य प्रदर्शन गर्न सकेन। मुख्य खेलाडीको चोटले पनि हाम्रो योजना पूरा हुन सकेन। यद्यपि नगरपालिकाको टोलीमा भने हामी अब्बल रह्याैं।

यता चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले वालिङसँगको हार वा जितले आफ्नो टोलीको लिगको स्थानमा कुनै फरक नपर्ने भएकाले खेलाडीले पनि यस खेललाई धेरै महत्व नदिएको प्रतिक्रिया दिए। लिगअन्तर्गत शुक्रबार एन्फा मुख्यालय सातदोबाटोमा हुने खेलमा पुलिसले चौदण्डीगढीको सामना गर्नेछ भने दशरथ रंगशालामा हुने खेलमा लिग विजेता एपिएफले दोस्रो स्थानमा आर्मीविरुद्ध खेल्दै लिगको समापन गर्नेछ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App