coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला राष्ट्रिय लिग: प्रतिस्पर्धात्मक खेलमा एपिएफ सफल

नेपाल पुलिसकी निर्मला विकलाई (निलाे) राेक्दै एपिएफकी डिफेन्डर गीता राना। तस्बिर: नागरिक

उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसलाई २–१ ले हराउँदै महिला राष्ट्रिय लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिँदा दिनको दोस्रो खेलमा आशा कुमारीको निर्णायक गोलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले स्तब्ध बनाएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले पुलिसलाई २–१ ले हराउँदै जितको लयलाई निरन्तरता दिएको हो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए।

अघिल्ला खेलमा एकतर्फीजस्तो देखिएको एपिएफको दबदबालाई पुलिसले यस खेलमा रोक्न सफल भएको थियो। रक्षात्मक खेल पस्किएको पुलिसले ६९औं मिनेटमा एपिएफलाई उपहार गोल दिएपछि आफैं दबाबमा परेको थियो। पुलिसकी घिमकुमारी गुरुङको बल आफ्नो पोस्टमा पुगेपछि एपिएफले अग्रताको अवसर पायो।

अमृता जैसीले ७५औं मिनेटमा गोल गरेपछि पुलिसले एपिएफविरुद्ध खेलमा फर्कने संकेत देखाएको थियो। तर त्यसपछि पुलिस बलियो एपिएफविरुद्ध चल्न सकेन। काउन्टरमा उत्रिएको एपिएफबाट खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रविना गोलेले गोल गर्दै अग्रता २–१ मा पुर्‍याइन्। 

रविनाले फ्रिकिक अवसरलाई सदुपयोग गरेकी थिइन्। यता, पुलिसकी अमृता जारी लिगमा एपिएफविरुद्ध गोल गर्ने पहिलो खेलाडी पनि भएकी छिन्। यस अघिका कुनै पनि खेलमा एपिएफले गोल खाएको थिएन। त्यसपछि दबाबमा परेको पुलिसले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन। रोमाञ्चक जित निकालेको एपिएफले १०औं खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिँदा उपाधिनजिक पुगेको छ।

१० खेलबाट स्पष्ट ३० अंक जोडेको एपिएफ शीर्ष स्थानमा यथावत् रहँदा पुलिसको १० खेलबाट १४ अंक छ। पराजयसँगै पुलिसको उपाधि उचाल्ने सम्भावना समाप्त भएको छ। सोमबारै सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले स्तब्ध बनाएको छ। ३५औं मिनेटमा विराटनगरबाट खेलेकी भारतीय खेलाडी आशा कुमारीले गरेको गोल निर्णायक बनेको थियो।

विपक्षी खेलाडीले लडाएपछि प्राप्त फ्रिकिकमा आशा कुमारी बललाई जाली चुमाउन सफल भएकी थिइन्। खेलको दोस्रो हाफमा खेलमा फर्किन संघर्ष गरेको वालिङले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक सुम्पिन बाध्य भएको हो। जितसँगै विराटनगरले ११ खेलबाट १६ अंक जोडेको छ।

विराटनगर तालिकाको तेस्रो स्थानमा रहँदा अंक सुम्पिएको वालिङको १४ अंक छ। वालिङ तालिकाको चौथो स्थानमा छ। पुुलिससँग समान अंक भए पनि गोलअन्तरका आधारमा वालिङ चौथो स्थानमा अटाएको हो। लिगमा दुई खेल बाँकी रहँदा त्रिभुवन आर्मी क्लब २५ अंकसहित दोस्रो स्थानमा छ। प्रतियोगितामा मंगलबार एक खेल हुनेछ। चन्द्रपुर नगरपालिकाले जारी लिगमा अंक जोड्न नसकेको चौदण्डगढी नगरपालिकाको सामना गर्नेछ।

प्रकाशित: ४ फाल्गुन २०७७ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App