८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप: प्रिन्स र दीपेशबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बल एपिएफ क्लबका प्रिन्स दाहाल र दीपेश धामी योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

चितवनमा जारी प्रतियोगितामा शनिबार प्रिन्सले पूर्वनम्बर एक भोजपुरका विकास श्रेष्ठलाई २१–१२, २१–१४ ले हराउँदै आफ्नै विभागका दीपेशसँग एक पटक फेरि उपाधिका लागि चुनौती प्रस्तुत गर्ने भएका हुन्। यसअघि गत दशौं पुष्पलाल स्मृित राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टनको फाइनलमा प्रिन्सले दीपेशलाई हराउँदै उपाधि जितेका थिए।

दीपेशले भने नवीन श्रेष्ठमाथि २१–१९, २१–१७ को जित निकाल्दै फाइनलमा स्थान बनाए। महिला एकलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र एपिएफकी जेसिका गुरुङ उपाधिका लागि भिड्ने भएका छन्। रसिलाले आर्मीकी अमिता गिरिलाई २१–१३, २१–१७ ले र जेसिकाले पनि आर्मीकै अनुमाया राईलाई २१–१७, २१–१५ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।  

रसिलाले यु–१९ तर्फ पनि उपाधि भिडन्त तय गर्दा कैलालीकी प्रार्थना देउवासँग प्रतिस्पर्धा गर्ने भएकी छन्। यही उमेर समूहको छात्रमा आर्मीका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बमको जोडी फाइनल पुगेको छ। राष्ट्रिय वरीयतामा शीर्ष २० भित्रका खेलाडीबीचको पुरुष युगलमा आर्मीका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी र एपिएफका दीपेश धामी र गौतम कठायतको जोडी फाइनल प्रवेश गरेका छन्।

पुरुष ४५ वर्षमाथि पूर्णहरि होना र सञ्जय कपालीको जोडी र कैलालीका वीरेन्द्रसिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आर्मीका सुरोज महर्जन र पविन लिनथेपको जोडीले विश्वास नेपाल र गणेश रायमाझीको जोडीसँग पुरुष युगल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: २ फाल्गुन २०७७ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App