महिला राष्ट्रिय लिगमा सातौं चरणका खेलहरू समाप्तिमा सबै क्लबले अंकखाता खोल्दा उदयपुरको चौदण्डीगढी नगरपालिका भने अझै लिगमा पहिलो अंकको खोजीमा छ। एन्फा मुख्यालय सातदोबाटोमा सोमबार भएको खेलमा एपिएफसँग १४–० को फराकिलो हार बेहोरेपछि चौदण्डीगढी नगरपालिका आठौं खेलमा पनि अंकविहीन भएको हो।
एपिएफले सातौं खेलमा पनि सतप्रतिशत नतिजालाई निरन्तरता दिँदै लिगको शीर्षता कायमै राखेको छ। एपिएफको जितमा स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक लय कायम राख्ने क्रममा आठ गोल गरिन्। कप्तान अनिता बस्नेत र अनिता केसीको नाममा समान दुई गोल रह्यो। त्यस्तै अनु लामा र रविना गोलेले पनि समान १/१ गोल गरेका थिए। जारी प्रतियोगितामा एपिएफ सात खेलको समाप्तिमा २१ अंकका साथ शीर्ष स्थानमा छ।
समान खेलबाट त्रिभुवन आर्मी क्लब पाँच अंकले पछि पर्दै दोस्रो स्थानमा छ। ११ अंक बटुलेका वालिङ नगरपालिका तेस्रो, १० अंक जोडेको विराटनगर महानगरपालिका चौथो स्थानमा छ। आठ अंकका साथ नेपाल पुलिस क्लब पाँचौं तथा ६ अंक जोडेको चन्द्रपुर नगरपालिका छैटौं स्थानमा छ। सात टोली सहभागी लिगमा चौदण्डीगढी नगरपालिका भने अंकविहीन छ। अन्य टोलीको तुलनामा एक खेल बढी खेलेको चौदण्डीगढी जारी लिगकै सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ।
खेलपछि गरिने प्रत्येक पत्रकार सम्मेलनमा चौदण्डीगढीका प्रशिक्षक दीपक थापाले एउटै जबाफ दिने गरेका छन्। ‘हामीले आज राम्रो खेल्यौं, तर बल पोसेसन राख्न सकेनौं। बल पोसेसनमा नियन्त्रण नरहेपछि फराकिलो हार बेहोर्नुपर्यो। आगामी खेलमा सुधारिएको प्रदर्शन गर्छौं,’प्रशिक्षक थापाले भने। जारी लिगमा एक गोल मात्र गरेको चौदण्डीगढीले ८६ गोल बेहोरेको छ। लिगमा चौदण्डीगढीविरुद्ध मैदान उत्रँदा अन्य ६ टोलीको एउटै लक्ष्य हुन्छ, सो टोलीविरुद्ध धेरैभन्दा धेरै गोल गर्ने।
के साँच्चै चौदण्डीगढी जारी लिगकै कमजोर टोली हो रु तर चौदण्डीगढीका प्रशिक्षक थापाले आफ्नो टोली सोचेजस्तो कमजोर नभएको र लिगमा छिट्टै अंकखाता खोल्ने बताउने गरेका छन्। ‘नतिजा र हारअन्तर फराकिलो हुँदा हामी जारी लिगकै कमजोर टोलीको रूपमा देखा परेका छौं,’ थापाले भने, ‘पक्कै पनि विभागीय टोली (एपिएफ, आर्मी र पुलिस) को तुलनामा हाम्रो स्तर तल छ।
तर अन्य तीन टोली (विराटनगर, वालिङ र चन्द्रपुर) सँगको स्तर बराबर नै हो। पहिलो चरणमा टोलीमा पर्याप्त खेलाडी पनि थिएनन् र भएका खेलाडी पनि घाइते थिए। खेलाडीमा चोटको पीडा कतिसम्म रह्यो भने स्ट्राइकर अञ्जना थुलुङले सबै गोलकिपर घाइते भएपछि लिगको पहिलो चरणको अन्तिम दुई खेलमा गोलपोस्ट सम्हाल्नुपर्यो।’
आर्मीविरुद्ध चौदण्डीगढीले गोलकिपर दीपशिखा विश्वकर्मा, रक्षक एमित लेप्चा, मिडफिल्डर एन्जिला भुटिया र स्ट्राइकर सुजता राई गरी चार भारतीय खेलाडीलाई मैदान उतारेको थियो। पहिलो चरणमा आर्मीविरुद्ध १२ गोल खाएको चौदण्डीगढीले दोस्रो चरणमा भने ९ गोल बेहोर्यो। आर्मीविरुद्धको खेलपछि थापाले टोलीमा विदेशी खेलाडी भित्रिएकाले सुधारको संकेत देखिएको बताएका थिए। तर, एपिएफविरुद्ध पनि चौदण्डीगढी निरिह नै देखियो।
प्रतियोगिताकै बलियो टोली एपिएफविरुद्ध चौदण्डीगढीले विपक्षी गोलकिपर रूपा रानामगरमाथि कुनै दबाब बनाउन सकेन। ‘टोलीमा नयाँ खेलाडी आएका छन्, उनीहरू पनि राम्रा खेलाडी हुन्। तर यसो भन्दैमा उनीहरूले मात्र खेलेर सुखद नतिजा ल्याउने होइन,’ थापाले भने, ‘फुटबल टिम गेम हो, उनीहरूसँगै हाम्रा खेलाडीहरू पनि चल्नुपर्यो, त्यसपछि मात्र सोचेअनुरूपको नतिजा आउँछ।’ यता एपिएफकी प्रशिक्षक भगवती थापाले चौदण्डीगढीले पछिल्ला खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको र खेलाडीमा सुधारको भोक देखिएको प्रतिक्रिया दिइन्।’
प्रकाशित: २७ माघ २०७७ ०५:४१ मंगलबार